
टीकापुर बहुप्राविधिक शिक्षालयमा भदौ १ र ३ गते बाख्रा र कुकुर मारेर त्रास सिर्जना गरेको चितुवा बुधबार नियन्त्रणमा लिइएको छ। बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले ट्रयापमा पारेर बिहान २ बजे नियन्त्रणमा लिएको शिक्षालयका प्रमुख पारस खड्काले जानकारी दिए।

नियन्त्रणमा परेको चितुवा बुधबार बेलुका निकुञ्जतर्फ लगिएको छ। शिक्षालय टीकापुर पार्क र कर्णाली किनारमा रहेको सामुदायिक वनसँग जोडिएको छ। सव–डिभिजन वन कार्यालय टीकापुरका फरेष्टर भिष्मराज ओझाका अनुसार, बाघको सङ्ख्या बढेसँगै ठूलो जंगलमा चितुवा टिक्न नसक्दा आहार खोज्दै गाउँ नजिक आउने गरेको हो।

विद्यार्थी र प्रशिक्षकहरु लामो समयदेखि त्रसित थिए। विद्यार्थी रामप्यारी कुँवरका अनुसार, नियन्त्रणपछि त्रास हटेको छ। टीकापुर क्षेत्रमा चितुवा समस्या नयाँ नभई, २०८१ सालको साउनमा पनि राति गाउँमा प्रवेश गरी बाख्रा मार्ने गरेको रेकर्ड छ।































