
अत्तरियाः कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयले नयाँ विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा हरिदत्त भट्टराईलाई सर्वसम्मत चयन गरेको छ। बिहीबार विद्यालयमा बसेको भेलाले भट्टराईलाई अध्यक्षका रूपमा अनुमोदन गरेको हो।

यसअघि भदौ १३ गते विद्यालयको व्यवस्थापन समिति गठनका लागि अभिभावक तर्फबाट चार प्रतिनिधि, भुवन भट्ट, यज्ञराज भाट, लोकराज भट्ट र यसोदा भट्ट चोखाल चयन भएका थिए। यस्तै वडा तर्फबाट वडाध्यक्ष यज्ञबहादुर महरा, नगर तर्फबाट मञ्जु साउँद र हरिदत्त भट्टराई प्रतिनिधि बनेका थिए। नियमअनुसार प्रतिनिधिहरूमध्येबाट अध्यक्ष चयन गर्नुपर्ने प्रावधानअनुसार भट्टराई सर्वसम्मत अध्यक्ष बनेका हुन्।

नयाँ अध्यक्ष चयनसँगै विद्यालयले नयाँ व्यवस्थापन समिति पाएको छ। समितिमा वडा अध्यक्ष यज्ञबहादुर महरा पदेन सदस्य रहेका छन् भने विद्यालयका प्रधानाध्यापक ललनप्रसाद चौबे सदस्य–सचिवको भूमिकामा रहनेछन्।

शिक्षा क्षेत्रलाई सुदृढ बनाउन र विद्यालयको गुणस्तरीय शिक्षा प्रवर्द्धनमा नयाँ समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ।



















