
अत्तरिया: सुदूरपश्चिम प्रदेश सांसद तुलसी देवकोटाले चौकीडाँडा–फल्टुडे सडक निर्माणमा ठेकेदार कम्पनीको चरम लापरबाहीविरुद्ध आन्दोलनरत गोदावरी नगरपालिका–३, १०, ११ र १२ का वडाध्यक्षहरूको कदमलाई ऐक्यबद्धता जनाएकी छन्।

उनले छ वर्षदेखि अधुरो सडकले स्थानीयलाई ठूलो सास्ती पारेको भन्दै प्रदेश सरकारले तत्काल अनुगमन गरी ठेकेदारसँग छलफल गरेर काम अगाडि बढाउनुपर्नेमा जोड दिइन्। साथै, निर्माण छिटो सम्पन्न गराउन सम्बन्धित निकाय र मन्त्रालयसँग पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन्।


सडकबाटै कार्यालय सञ्चालन गर्दै दबाबमूलक आन्दोलन थालेका वडा नं. १० का अध्यक्ष रविन्द्र शाही (गुड्डू) ले तेस्रो दिन अत्तरियामा सडक आन्दोलन गर्ने चेतावनी दिएका छन्।
अधुरो सडकका कारण स्थानीयले भारतबाट ल्याएका सवारीसाधन बिग्रिने, गर्भवतीले बाटोमै बच्चा जन्माउनुपर्ने, सर्पदंश पीडितलाई अस्पताल पुर्याउन कठिन हुने जस्ता समस्या दोहोरिइरहेको पीडितहरूको गुनासो छ। उचित सडक नहुँदा रोजगारका लागि पुनः भारत फर्कनुपर्ने बाध्यता समेत सिर्जना भएको छ।






























