राहत होइन तटबन्ध चाहियो : दोधारा चाँदनीका बाढीपीडित आन्दोलनमा

Image
Nisarga Hospital

कञ्चनपुरः दोधारा चाँदनी नगरपालिकाका बाढीपीडितहरू जोगबुडा नदीमा पक्की तटबन्ध निर्माणको माग गर्दै बिहीबार बिहानैदेखि आन्दोलनमा उत्रिएका छन्। प्रत्येक वर्ष बाढीले विस्थापित हुने अवस्था दोहोरिएपछि उनीहरूले राहतभन्दा स्थायी समाधान आवश्यक रहेको बताएका छन्।

CP Hospital Dhangadhi

जर्गा टोलकी यमुना मगरले नगरपालिकालाई बोरा बोरा चामल पिठो बुझाउँदै भनिन्, “हामीलाई यो चामल चाहिँदैन, पक्की तटबन्ध चाहिन्छ। पानी परेपछि बारम्बार विस्थापित हुनुपर्ने बाध्यता अन्त्य हुनुपर्छ।”

यसै साता आएको बाढीले उनको परिवारसहित स्थानीयवासी विस्थापित भएका थिए। रातमा बालबालिका बोकेर विद्यालय शरण लिनु, छतमा छाता ओढेर बस्नुपर्ने जस्ता कठिनाइ भोग्नुपरेको उनले बताइन्।

nawajiwan
Attariya Hospital

जर्गा टोलकै चन्द्रबहादुर सुनारले पनि सुरक्षित बस्ने अवस्था कहिल्यै नपाएको भन्दै स्थायी समाधान खोज्नुपर्ने बताए। उनका अनुसार बाढी आउनेबित्तिकै बस्ती डुबानमा पर्छ, राहतले मात्र समस्या समाधान हुँदैन।

हालै आएको बाढीले दोधारा चाँदनी–३ को पटेराखल्ला, वडा नं. ८ को रामपुरे टापुर जर्गा टोल र वडा नं. १० को शान्ति टोलका ५२ परिवार विस्थापित बनाएको थियो। सशस्त्र प्रहरीले सञ्चालन गर्दै आएको दुईवटा बीओपीसमेत डुबानमा परेका थिए। अधिकांश परिवार घरभित्रको लेदो पन्छाएर फर्किए पनि पटेराखल्लाका १५ परिवार अझै विद्यालयमा आश्रित छन्।

पीडितहरूले अब राहत नभई पक्की तटबन्ध निर्माण गरेर बाढीको त्रास अन्त्य गर्न सरकारसँग तत्काल कदम चाल्न आग्रह गरेका छन्।