
धनगढी: सुदूरपश्चिमकै नमूना क्याम्पसका रूपमा परिचित ऐश्वर्य बहुमुखी क्याम्पसले संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गर्दै निरन्तर उत्कृष्ट नतिजा ल्याउँदै आएको छ। ऐश्वर्य विद्या निकेतनद्वारा सञ्चालित सामुदायिक क्याम्पसका प्रमुख प्रा. धर्मदेव भट्टका अनुसार क्याम्पसले २०६३ सालमा त्रिभुवन विश्वविद्यालयबाट बीएससीको सम्बन्धन प्राप्त गर्दै तत्कालीन सेती अञ्चलको पहिलो विज्ञान क्याम्पसका रूपमा यात्रा सुरु गरेको थियो।

समाजको मागअनुसार २०६४ सालमा बीबीएस र २०७८ सालमा एमबीएस कक्षा सुरु गरिएको क्याम्पसले राष्ट्रियस्तरमै उत्कृष्ट परिणाम हासिल गर्न सफल भएको छ। हालैको नतिजामा एमबीएस पहिलो सेमेस्टरमा ९५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। बीएससी र बीबीएसमा पनि निरन्तर उच्च नतिजा आइसकेको प्रमुख भट्टले जानकारी दिए।


गुणस्तरीय शिक्षाका कारण यो क्याम्पस प्रदेशका नौ वटै जिल्ला मात्र नभई देशका विभिन्न भेगका विद्यार्थीको रोजाइमा परेको छ। शिक्षासँगै रोजगारी दिने उद्देश्यसहित क्याम्पस स्थापित भइसकेको छ। विद्यार्थीको व्यक्तित्व विकास, नेतृत्व क्षमता र संस्कार निर्माणमा विशेष ध्यान दिँदै विभिन्न विज्ञमार्फत परामर्श, छलफल र प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेका छन्।
क्वीएए प्रमाणित कलेजका रूपमा मान्यता प्राप्त ऐश्वर्य बहुमुखी क्याम्पसले पहिलो चरण पार गरी दोस्रो चरणमा प्रवेश गरेको छ। क्याम्पसको प्रवद्र्धन र निरन्तर उन्नतिका लागि प्रदेश, स्थानीय तथा संघीय सरकार, राजनीतिक दल, मिडियाकर्मी र सम्पूर्ण शिक्षाप्रेमीको साझा जिम्मेवारी रहेको प्रा. भट्टले बताए।
सामुदायिक सम्पत्तिको धरोहर मानिएको ऐश्वर्य बहुमुखी क्याम्पसले शिक्षा क्षेत्रमा मात्र होइन, समाज र राष्ट्र निर्माणमा समेत योगदान पु¥याइरहेको छ।
































