
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षा मन्त्रालयको नाम फेरि ‘युद्ध मन्त्रालय’ राख्ने प्रस्तावसहित शुक्रबार कार्यकारी आदेशमा हस्ताक्षर गर्ने तयारी गरेका छन्। ह्वाइट हाउसका अनुसार आदेशले रक्षा मन्त्री पीट हेगसेथलाई ‘युद्ध मन्त्री’ शीर्षक प्रयोग गर्ने अधिकार दिनेछ। यद्यपि नाम औपचारिक रूपमा परिवर्तन गर्न अमेरिकी कङ्ग्रेसको अनुमोदन आवश्यक हुनेछ।

इतिहासमा अमेरिकाको रक्षा मन्त्रालयलाई सन् १७८९ मा ‘वार डिपार्टमेन्ट’ नामले स्थापना गरिएको थियो। दोस्रो विश्वयुद्धपछि १९४७ मा नाम बदल्दै ‘नेशनल मिलिटरी इस्ट्याब्लिशमेन्ट’ राखिएको थियो। तर, ‘एनएमई’ संक्षिप्त रूप ‘इनेमी’ (शत्रु) जस्तै सुनिने भएकाले सन् १९४९ मा फेरि ‘डिपार्टमेन्ट अफ डिफेन्स’ नाम दिइएको थियो।
ट्रम्पले हालको नाम पर्याप्त ‘युद्धमुखी’ नभएको भन्दै आलोचना गर्दै आएका छन्। उनले अघिल्लो महिनामा भनेका थिए, “युद्ध मन्त्रालय भन्ने नाम बलियो थियो, जससँग प्रथम र द्वितीय विश्वयुद्धमा अमेरिकाको विजय जोडिएको छ।” उनका अनुसार, ‘रक्षा मात्र नभई आक्रमण पनि आवश्यक’ भएकाले पुरानो नाम उपयुक्त छ।


रक्षामन्त्री हेगसेथ पनि नाम परिवर्तनका समर्थक मानिन्छन्। उनले यसले मन्त्रालयभित्र ‘योद्धा भाव’ बलियो पार्ने बताएका छन्। बिहीबार फोर्ट बेनिङ भ्रमणपछि पत्रकारसँग उनले समेत ‘युद्ध मन्त्रालय’ शीर्षक प्रयोग गरेका थिए।
ट्रम्पको आदेशले अब विधायिकासमक्ष नाम स्थायी रूपमा परिवर्तन गर्न सिफारिस गर्ने बाटो खोल्नेछ। यसले अमेरिकी सैन्य नीतिको पहिचानमा ठूलो बहस ल्याउने अपेक्षा गरिएको छ।
































