
बैतडी: भदौको अन्तिमसातासँगै बैतडीका गाउँबस्तीमा मकै भित्र्याउने चटारो सुरु भएको छ। बिहानैदेखि किसानहरू डोको–नाम्लो बोकेर खेतबाट मकै टिप्दै घर आँगनमा ल्याउने, दाना छुट्याउने र टव्वा (लुटा) झुन्ड्याउने काममा व्यस्त देखिन्छन्। यसले गाउँको वातावरणलाई थप आकर्षक बनाएको छ।

किसान गणेश महराका अनुसार वर्षाले भित्र्याउन नपाउने डर भए पनि अहिले मौसमले साथ दिएको छ। किसानहरू पाकेको मकै भाँचेर टव्वा बनाउन थालेका छन्। ‘‘मकै हाम्रो दैनिक जीवनसँग जोडिएको प्रमुख आधार हो,’’ मेलौली–५ का किसान नरबहादुर चन्द भन्छन्, ‘‘खानापिनादेखि पशुपालन र खर्च धान्नेसम्म मकै नै भरपर्दो अन्न हो।’’ महिलाले गीत गाउँदै दाना छुट्याउने, युवाले सामूहिक श्रम बाँड्ने परम्पराले गाउँको संस्कृति पनि झल्किन्छ।
तर पछिल्ला वर्षहरूमा बाँदर र बँदेलजस्ता जंगली जनावरले मकैबालीमा ठूलो नोक्सानी पुर्याउने गरेका छन्। दशरथचन्द–२ का धनबहादुर थापाले दिनरात बारीमै ड्युटी गर्नुपरेको गुनासो गरे।


कृषि ज्ञान केन्द्र, बैतडीका अनुसार यस वर्ष मकै उत्पादन गत वर्षभन्दा केही बढ्ने अनुमान छ। प्रमुख हरिदत्त जोशीका भनाइमा, ‘‘मकै बैतडीको प्रमुख खाद्यान्न हो। वन्यजन्तु नियन्त्रण र भण्डारण प्रविधि सुधार गर्न सके किसान अझ बढी लाभान्वित हुनेछन्।’’
हाल बैतडीमा १३ हजार हेक्टरभन्दा बढी जमिनमा मकैखेती भइरहेको छ। अनुकूल मौसम र किसानको मेहनतका कारण यस वर्ष उत्पादन सन्तोषजनक हुने अपेक्षा गरिएको छ।






























