
धनगढी: “सडक, पुल, भवनभन्दा पनि हाम्रो नगर गौरवको योजना फोहर व्यवस्थापन र सरसफाइ प्रवद्र्धन हो,” धनगढी उपमहानगर प्रमुख गोपाल हमालले पोखरा महानगरपालिकाको अवलोकन टोलीलाई सम्बोधन गर्दै भन्नुभयो। उहाँले फोहर नघर्ने बानी बसाल्न सामुदायिक सचेतना अपरिहार्य भएको उल्लेख गर्नुभयो।

अवलोकन टोलीले धनगढी–२ सरस्वतीनगरको बायोग्यास प्लान्ट, फोहर वर्गीकरण केन्द्र, निर्माणाधीन स्वास्थ्यजन्य फोहर व्यवस्थापन केन्द्र र धनगढी–७ पटेलास्थित करिब एक अर्ब लागतको एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रको निरीक्षण गर्यो।

पोखराको टोलीले धनगढीले अपनाएको सामुदायिक अभियान, स्रोत व्यवस्थापन, कानुनी संरचना र व्यवहार परिवर्तनलाई अनुकरणीय भन्दै आफ्नै नगरमा पनि लागू गर्ने प्रतिवद्धता जनाएको छ।

धनगढीले ९५ प्रतिशत फोहर घरमै वर्गीकरण हुने प्रणाली, प्लास्टिकजन्य फोहर नियन्त्रण, हरियाली प्रवर्द्धन तथा ‘हाम्रो धनगढी, सफा धनगढी’ अभियानलाई प्राथमिकतामा राख्दै आएको छ।




















