
अत्तरिया: गोदावरी नगरपालिका–४ की ममता लामिछानेले अचार उद्योग संचालन गरेर महिलाले घरकाम मात्र होइन, बाह्य काममा पनि सफलता हासिल गर्न सक्ने उदाहरण प्रस्तुत गरेकी छन्।

२०७६ सालमा सिसा परियोजनाबाट अचार तालिम लिएपछि उनले बुढीतोला क्षेत्रमा अन्नपूर्ण अर्गानिक घरेलु उत्पादन नामक फर्म दर्ता गरी उद्योग सञ्चालन गरिन्। हाल डल्ले खुर्सानी, आँप, कागती, अमला, कोईराल, तामा, लप्सी, लसुन र अदुवाको अचार उत्पादन गर्दै मासिक करिब ८० हजारको कारोबार गर्दै आएकी उनले खर्च कटाएर झण्डै ४० हजार बचत हुने बताइन्।

उनले आफ्नै ३ रोपनी जमिनमा अदुवा र खुर्सानी उत्पादन गर्छिन् भने आवश्यकताअनुसार खरिद पनि गर्छिन्। चार जना कर्मचारी संलग्न उद्योगमा दैनिक सय डिब्बासम्म अचार बिक्री हुने र पहाडदेखि तराईसम्म खपत हुने गरेको छ।

अचारसँगै जुम्ली सीमी, बझाङको राज्मा, दाल र विभिन्न किसिमका चामल पनि बिक्री हुने उद्योगमा बजारको अभाव नरहेको उनले बताइन्। लामिछानेका अनुसार राज्यबाट सहयोग भने पाउन सकेकी छैनन्।
































