
कञ्चनपुरको पुनर्वास नगरपालिका–८ र ९ मा अवस्थित ‘प्यारा ताल’ प्राकृतिक सौन्दर्य, जैविक विविधता र सदावहार जलाशयका कारण महत्त्वपूर्ण मानिन्छ। करिब ६ किलोमिटर लम्बाइ, ७० मिटर चौडाइ र १५ फिट गहिराइ भएको ताल दुर्लभ प्रजातिका जलचर तथा उभयचर प्राणीहरूको बासस्थानका रूपमा चिनिन्छ।

तालमा विश्वमै दुर्लभ मानिने ओद (मांशाहारी जलचर), दक्षिण एसियामा दुर्लभ पहेंलोधुरे कछुवा, गोही, जलकपुरसहित ३५ प्रजातिका माछा पाइन्छन्। यद्यपि राज्यको ध्यान नपुगेका कारण ताल ओझेलमा परेको छ। स्थानीय स्तरमै संरक्षण अभियान सुरु गर्ने उद्देश्यले २०८० असार २० गतेदेखि प्यारा ताल पर्यटन प्रवर्द्धन तथा संरक्षण समिति सक्रिय भएको अध्यक्ष दिपेन्द्र बस्नेतले बताए।
सुरुवाती चरणमा नागरिकस्तरमै आर्थिक सहयोग जुटाइ ताल परिसरमा ओद, कछुवा, जलकपुर, जरायो र गोहीका प्रतिमा निर्माण गरिएको छ। मयँर, पाठेबाघ र सिमकुखुराको प्रतिमा निर्माण कार्य पनि भइरहेको समितिले जनाएको छ।


गत आर्थिक वर्ष २०८१/८२ मा संघीय सरकारले रु. ९० लाख विनियोजन गरेको थियो। पुनर्वास नगरपालिकामार्फत आह्वान गरिएको टेन्डर अनुसार रु. ७३ लाखमा ११० मिटर तटबन्ध निर्माण सुरु भइसकेको छ। हालसम्म ८५ मिटर काम सकिएको र २५ मिटर बाँकी रहेको छ। साथै माटो फिलिङ र एउटा सभाहलको निर्माणसमेत सम्पन्न भएको छ।
नगरपालिकाले ताललाई पर्यटनको केन्द्रका रूपमा विकास गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेको छ। स्थानीयहरूका अनुसार राज्यस्तरमा संरक्षण र प्रवर्द्धनमा प्राथमिकता दिइए प्यारा ताल सुदूरपश्चिमको महत्वपूर्ण पर्यटकीय स्थलका रूपमा स्थापित हुन सक्नेछ। तर बेवास्ता गरिए जैविक सम्पदासहित तालको अस्तित्व संकटमा पर्ने चेतावनी पनि दिइएको छ।




















