
उद्दब सिंह/बैतडीः दशरथचन्द नगरपालिका–४ देवलहाटस्थित पाण्डवकालीन मान्यता बोकेको पञ्चदेवल शिव धाम सप्तदेवल मन्दिर परिसरमा फेला परेका महत्वपूर्ण ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाहरू संरक्षणको अभावमा धर्मशालामा अलपत्र छन्।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले मान्यता दिएको यस स्थलमा ढाल, तरवार, आम्खोरा, गग्री, माटोका भाँडाकुँडा, धान तथा सुन–चाँदीका बहुमूल्य सम्पदाहरू भेटिएका छन्। तर, उचित सुरक्षा र व्यवस्थापन नहुँदा यी सम्पदाहरू जतन गर्न सकिने सम्भावना कमजोर बन्दै गएको छ।
समाजसेवी ईश्वरीदत्त भट्टका अनुसार आम्खोरामा राखिएका धान मुसाले खान थालेका छन् भने अन्य सम्पदाहरू पनि सुरक्षित छैनन्। पुरातत्व विभागले मन्दिरलाई ‘क’ वर्गमा सूचीकृत गरे पनि संरक्षण, अनुसन्धान र व्यवस्थित व्यवस्थापनमा ध्यान पुग्न सकेको छैन।


विशेषज्ञहरूका अनुसार तत्काल सम्पदाहरूको वैज्ञानिक अनुसन्धान, अभिलेखीकरण, संरक्षण तथा सुरक्षा सुनिश्चित गर्नुपर्छ। साथै दीर्घकालीन रूपमा संग्रहालय वा पुस्तकालय स्थापना गरी सम्पदाहरूको प्रदर्शन र संरक्षण गर्न स्थानीय, प्रदेश तथा संघीय सरकारबीच सहकार्य आवश्यक देखिन्छ।
शिखर शैलीमा निर्मित पञ्चदेवल शिव धाम धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले अमूल्य सम्पदा हो, जसको संरक्षण सम्पूर्ण समाजको साझा दायित्व मानिन्छ।































