
बैतडीः दशरथचन्द नगरपालिकाले नगरभित्र आइतबार सार्वजनिक बिदा दिएको छ। वडा नं. २ स्थित निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्राको अवसरमा सबै सरकारी कार्यालय, शिक्षण संस्था र गैरसरकारी संस्था बन्द रहने नगरपालिकाले जनाएको छ।

नगरउपप्रमुख कौशिला चन्दद्धारा जारी सूचनामा स्थानीय तहको अधिकार प्रयोग गरी एकदिने सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख छ। भाद्र शुक्ल द्वादशीबाट सुरु भएको अनन्त चतुर्दशी जात्रा आइतबार भाद्र शुक्ल पूर्णिमामा समापन हुनेछ।

यस जात्रामा यसपालि पशुबलि नभई विशेष पूजा गरिने वडा अध्यक्ष सूर्य बोहराले बताए। निङ्गलाशैनी भगवती मन्दिरको यो पर्वलाई स्थानीय रूपमा “बैतडी स्वराडिकी जात्रा” पनि भनिन्छ।





















