
शुक्लाफाँटा नगरपालिका–३, जोनापुरमा प्रहरी र नेपाली सेनाको संयुक्त कार्यवाहीमा ठूलो परिमाणमा नक्कली भारतीय नोट बरामद भएको छ। विशेष सूचनाको आधारमा शुक्रबार राति भारतीय नम्बर प्लेट UP14 BH2073 रहेको गाडीलाई नियन्त्रणमा लिएर जाँच गरिएको थियो।

इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको टोलीले गाडी पछ्याइरहेको बेला नेपाली सेना, श्री रणसिंह सुरक्षा गण जोनापुर पोस्टले उक्त गाडीलाई रोकेर चेकजाँच गरेको थियो। जाँचका क्रममा भारतीय नक्कली ५०० रुपैयाँ नोटसहित तीन जनालाई पक्राउ गरिएको हो।
घटनास्थलमा नक्कली नोटसहितको गाडी रोकिँदा संलग्न व्यक्तिहरू भाग्ने प्रयास गर्दै थिए। नेपाली सेनाले शुक्लाफाँटा निकुञ्जको सुरक्षा कायम राख्दै उनीहरूलाई नियन्त्रणमा लिएको थियो। बरामद नोटमध्ये भारतीय रुपैयाँ ५०० दरका १४७ थान नक्कली जस्तो देखिने नोट रहेका छन्।


पक्राउ गरिएका तीन जना सँगै थप दुई जनालाई पनि नियन्त्रणमा लिइएको छ। प्रारम्भिक अनुसन्धानका अनुसार, घटनामा संलग्न व्यक्तिहरूले नक्कली नोट देशभरि वितरण गर्ने योजना बनाएका थिए। प्रहरीले थप अनुसन्धान गर्दै घटनामा अन्य सहभागीहरूको पहिचान र सम्पूर्ण नेटवर्क पत्ता लगाउने प्रक्रिया अघि बढाएको छ।
प्रहरी र सेनाको संयुक्त कार्यवाहीले जोनापुर क्षेत्रमा नक्कली नोटको कारोबार रोक्न महत्त्वपूर्ण कदम सावित भएको प्रहरी स्रोतले बताए।




























