
अत्तरिया चोकमा चौकीडाँडा–फल्टुडे सडक निर्माणमा ठेकेदारको ढिलासुस्ती र लापरबाहीको विरोधमा व्यापक र्याली आयोजना गरिएको छ। सोमबार सडक सङ्घर्ष समितिको आयोजनामा गोदावरीका जनप्रतिनिधि र स्थानीयवासीको उपस्थितिमा विरोध र्याली सञ्चालन गरिएको हो।


आइतबार पत्रकार सम्मेलनमार्फत चक्काजामको कार्यक्रम घोषणा गरिएको थियो। तर कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल र ठेकेदार बिहानै ओलानी पुगेपछि भोलिदेखि काम सुरु गर्ने र दिउँसो २ बजे लिखित प्रतिबद्धता दिने सुनिश्चित भएपछि चक्काजाम रोकेर र्याली र कोष सभा आयोजना गरिएको थियो।
गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले भने, “छ वर्षअघि ठेक्का भएको सडक ठेकेदारले समयमा निर्माण नगर्दा यस्तो अवस्था आएको हो। पटक-पटक पहल गरे पनि परिणाम नआएपछि बाध्य भएर सडकमा आउनुपरेको हो। भोलिदेखि काम सुरु नभए पुनः आन्दोलन हुनेछ।”

वडा नं. ३ का वडाध्यक्ष तेज राज अवस्थीले भने, “सडकमै वडा कार्यालय सञ्चालन गर्दा पनि सुनुवाइ नभएपछि सडकमा आन्दोलन गर्नु परेको हो।” सङ्घर्ष समितिका संयोजक विक्रम विकले भने, “सम्झौता पछि पनि ढिलाइ भए सडक पूर्ण रूपमा ठप्प गरिनेछ।”
प्रदेश सरकारले २०७६/०७७ मा अढाई किलोमिटर कालोपत्रे गर्ने ठेक्का सम्झौता गरे पनि दोस्रो र तेस्रो खण्ड निर्माण अलपत्र परेको छ। कुल साढे ५ किलोमिटर सडक निर्माण ढिलाइ भएपछि स्थानीय जनप्रतिनिधि र नागरिक आन्दोलनमा उत्रिएका छन्।




















