
कैलालीको अत्तरियामा पनि जेनजी पुस्ताले दिउँसो प्रदर्शन गरेका छन्। देशभरि फैलिएको विरोध प्रदर्शनकै क्रममा अत्तरियामा प्रदर्शनकारी युवाहरू सडकमा उत्रिएका थिए।

प्रदर्शनमा सहभागी युवाहरूले “युवा मार्न पाइदैन”, “केपी ओली मुर्दावाद”, “केपी चोर देश छाड” र “गृहमन्त्री राजीनामा दे” जस्ता नारा लगाएका थिए। प्रदर्शनको क्रममा युवाहरूले सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध आक्रोश पोखेका थिए।

स्थानीय प्रहरीका अनुसार प्रदर्शन शान्तिपूर्ण रूपमा सुरु भए पनि केही स्थानमा तनाव उत्पन्न भएको थियो। सुरक्षाकर्मीले भीड नियन्त्रणमा राख्न सामान्य व्यवस्था अपनाएका थिए। प्रदर्शनकारीहरूले सडकमा नारा लगाउँदै आफूहरूको माग सार्वजनिक गरेका थिए।

अत्तरियामा भएको प्रदर्शनले युवा पुस्ताको आक्रोश र सरकारविरुद्धको असन्तुष्टि प्रष्ट देखाएको छ। स्थानीय बासिन्दा र व्यापारीहरूका अनुसार प्रदर्शनले सामान्य जनजीवन केही प्रभावित भए पनि युवा पुस्ताको चेतना र सक्रियतामा अभिवृद्धि भएको छ।
यसअघि काठमाडौं, पोखरा, झापा र मोरङसहित देशका विभिन्न ठाउँमा जेनजी प्रदर्शन हिंसात्मक बनेको थियो। अत्तरियामा पनि प्रदर्शनले सरकारलाई युवा पुस्ताको आवाज सुन्नुपर्ने स्पष्ट सन्देश दिएको छ।
प्रदर्शनकारीहरूले आफ्ना माग यथाशीघ्र सम्बोधन नगरे चेतावनी दिँदै शान्तिपूर्ण तरीकाबाट आवाज उठाउन सरकारलाई आग्रह गरेका छन्।





















