
बैतडी – बैतडीको सिगास गाउँपालिकाले हिजो सोमबार (भदौ २३ गते) देशभर भएको Gen-Zको शान्तिपूर्ण आन्दोलनका क्रममा निधन भएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै आज (भदौ २४ गते) गाउँपालिकाभित्रका सम्पूर्ण कार्यालय, विद्यालय तथा संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गाउँपालिकाले एक सूचना जारी गर्दै आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गर्दै मृत आत्माको चिरशान्तिको कामना गरिएको छ । साथै, शोकाकुल परिवारप्रति गहिरो संवेदना व्यक्त गर्दै नेपाल सरकारलाई नागरिकको जीवन रक्षा, शान्ति–सुरक्षा कायम गर्न र नागरिकको जायज माग पूरा गर्न समेत ध्यानाकर्षण गराइएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले हस्ताक्षर गरेको सूचनामा आज सार्वजनिक बिदा दिने निर्णय गाउँपालिका अध्यक्षको निर्णय अनुसार भएको उल्लेख छ।


सूचनाअनुसार, आजको दिन गाउँपालिकाअन्तर्गतका सरकारी कार्यालय, विद्यालय तथा सम्बन्धित संस्थाहरु बन्द रहने छन्।
































