
अत्तरियाः जेनजी आन्दोलनका क्रममा कैलालीका विभिन्न स्थानीय तहमा सरकारी कार्यालय र सम्पत्ति ध्वस्त भएका छन्। गोदावरी नगरपालिकाको कार्यालय, मेयर र उपमेयरको कार्यकक्ष, आर्थिक प्रशासन शाखा, स्टोर र अन्य महत्वपूर्ण कागजातहरू पूर्णरूपमा जलेर नष्ट भएका छन्। स्थानीय स्रोतका अनुसार, कागजात र उपकरणको क्षति व्यापक छ र यसको विवरण हालसम्म संकलन भइरहेको छ।


मंगलबार बिहान साढे १० बजे सुरु भएको आन्दोलनमा प्रदर्शनकारीहरूले पहिलो चरणमा नगरपालिका कार्यालयमा तोडफोड गरेका थिए। प्रहरीको सामान्य बल प्रयोग पछि उनीहरू पार्टी कार्यालय, जनप्रतिनिधि निवास र नगरपालिकामा पुनः आगजनी र तोडफोड गर्दै पुगे। दोस्रो चरणको आक्रमणमा कार्यालय भित्रै आगो लगाइएको थियो भने मोटरसाइकल र स्टोरम जलेर नष्ट भएका थिए।
“आन्दोलनकारीबाट भएको तोडफोड र आगजनीले गोदावरी नगरपालिकामा ठूलो क्षति पुगेको जानकारी गोदावरी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीले बताएका छन । मुख्य कार्यालयदेखि विभिन्न शाखासम्मका महत्वपूर्ण कागजात र सामग्री जलेर नष्ट भएका छन्। स्थानीयवासीका अनुसार फाइल, अभिलेख र सरकारी सम्पत्ति पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। यसका कारण नगरपालिकाको प्रशासनिक कामकाज ठप्प भएको छ र आगामी दिनमा सेवा प्रवाहमा समेत असर पर्न सक्ने स्थिति छ।”
कैलालीका अन्य स्थानीय तहहरू पनि प्रभावित भएका छन्। घोडाघोडी नगरपालिकाको कार्यालय, वडा कार्यालयहरू, गौरीगंगा, लम्कीचुहा र कैलारी गाउँपालिकामा सरकारी संरचना, कागजात र सेवा उपकरण जलेर नष्ट भएका छन्। धनगढी उपमहानगरपालिका, मुख्यमन्त्री कार्यालय, प्रदेश सभा सचिवालय, विभिन्न मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा समेत प्रदर्शनकारीहरूले तोडफोड गरेका थिए।

कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले सुरक्षा थप कडाइ गर्नुपर्ने बताए। प्रहरी प्रमुख नरेन्द्रबहादुर चन्दले क्षतिको विवरण संकलन भइरहेको जानकारी दिएका छन्।
युवा विद्यार्थी र जेनजी पुस्ताले सरकारको दमनको विरोध गर्दै स्वस्फूर्त प्रदर्शन गरेका भए पनि यसको प्रभावले सरकारी सेवा ठप्प भएका छन्। स्थानीय प्रशासनका अधिकारीहरूले कार्यालय सञ्चालनमा आएपछि मात्र क्षतिको पूर्ण विवरण पाउन सकिने बताए।
जेलसहितको आक्रोश र सार्वजनिक सम्पत्तिको ध्वस्तिका समाचारले नागरिकमा चासो बढाएको छ। स्थानीय तह र राज्य निकायहरूले क्षतिको आंकलन र पुनःनिर्माणमा ध्यान दिनुपर्ने अवस्था छ।






































