
कैलालीको गोदावरी नगरपालिकाबाट चोरी भएका १३ थान कुर्ची र ३ थान आराम बेन्च चोरले फिर्ता गरेका छन्। गत भदौ २४ गते जेनजी समूहको आन्दोलनका क्रममा नगरपालिकामा तोडफोड, आगजनी र चोरी भएको थियो।

नगर प्रहरीले बिहीबार राती कुर्ची र आराम बेन्च फिर्ता आएको जानकारी दिएको छ। यसअघि बुधवार राति पनि तीन थान प्लास्टिक कुर्ची, त्रिपाल र दुई थान सिलिङ पङ्खा नगरपालिकाको गेट अगाडि राखेर फिर्ता गरिएको थियो।

गोदावरी नगरपालिकाबाट कम्प्युटर, कुर्ची, पङ्खा, त्रिपाल, झाडु लगायतका सामग्री चोरी भएका थिए। प्रहरीले चोरी भएको सामान फिर्ता हुने क्रम जारी रहेको र थप अनुसन्धान भइरहेको जनाएको छ।





















