
धनगढीः चैतन्य पाठशालाका सद्भावना दूत भरतबिक्रम शाहले जेनजी आन्दोलनलाई उत्तेजित बनाएको आरोपपछि आफ्नो जिम्मेवारीबाट राजीनामा दिएका छन्। मंगलबार धनगढीमा भएकाे जेनजी आन्दोलनका क्रममा शाहले प्रदर्शनकारीलाई सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड गर्न उक्साएको देखिने भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विवाद सुरु भएको थियो।

विवाद फैलिएपछि शाहले बिहीबार फेसबुकमार्फत चैतन्य पाठशालासँगको आफ्नो सम्बन्ध अन्त्य भएको घोषणा गरे। उनले विवादास्पद भिडियो पनि फेसबुकबाट हटाएका छन्। तर, उक्त भिडियोहरू अहिले पनि सामाजिक सञ्जालमा फेरि शेयर भइरहेका छन्।
सद्भावना दूतको भूमिकाका कारण पाठशाला पनि आलोचनाको केन्द्रमा आएको छ। विशेषगरी चैतन्य पाठशाला विदेशी लगानीमा सञ्चालित शैक्षिक संस्था भएकाले केहीले शाहमार्फत जेनजी आन्दोलनलाई ध्वंसात्मक बनाउन भूमिका खेलेको आरोप लगाएका छन्।

एक जेनजी युवाले भने, “शान्तिपूर्ण आन्दोलनलाई उत्तेजित गरेर सार्वजनिक सम्पत्तिमा आगो लगाउने र तोडफोडमा विदेशी फन्डिङ भएका संघसंस्थाहरूको समेत भूमिका रहेकाले छानवीन आवश्यक छ।”

यसबारे चैतन्य पाठशालाले संस्थालाई आन्दोलनसँग जोडिएको आरोपको खण्डन गरेको छ। पाठशालाका प्राचार्य प्रेमनिधि ओझाले भने, “शाहको भूमिका व्यक्तिगत हो, पाठशालासँग यसको कुनै सम्बन्ध छैन। कृपया संस्थालाई यसरी व्याख्या नगर्नुहोस्।”
यस घटनाले सामाजिक सञ्जालमा चैतन्य पाठशालाको छवि विवादित बनाएको छ र हाल यो विषयले व्यापक ध्यान आकर्षित गरेको छ।
































