
जेन–जी पुस्ताको प्रदर्शनका क्रममा गोली लागेर घाइते भएका बैतडी शिवनाथ गाउँपालिका–२ मडका १८ वर्षीय दीपकसिंह साउँदको उपचारका क्रममा शुक्रबार राति निधन भएको छ।

महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचाररत साउँदको मृत्यु भएपछि गाउँपालिकाले आइतबार पालिकाभरी शोक बिदा दिने घोषणा गरेको छ। पालिकाले जारी गरेको वक्तव्यमा घटनाले सम्पूर्ण क्षेत्र शोकाकुल भएको उल्लेख गर्दै मृतकलाई राष्ट्रिय सहिद घोषणा गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ।

शोक बिदाका दिन पालिकाभरीका सरकारी तथा गैरसरकारी कार्यालय, शैक्षिक संस्था बन्द रहने जनाइएको छ। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा साउँदलाई गोली लागेको थियो। गाउँपालिकाले दीपकसिंहको बलिदानलाई देशले सम्झनुपर्ने बताएको छ।





















