
नेपाली कांग्रेस गोदावरी नगर कार्यसमितिले देशभर चलिरहेको जेन–जी आन्दोलनका क्रममा शहादत प्राप्त व्यक्तिहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ। नगर समितिले घाइते भएका सबै व्यक्तिहरूको छिटो स्वास्थ्य लाभको कामना गर्दै सरकारले निःशुल्क उपचारको व्यवस्था गर्न जोडदार माग गरेको छ।

अध्यक्ष शेरबहादुर देउवा र निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवामाथि भएको सङ्घातपूर्ण हमलाको भर्त्सना गर्दै नगर समितिले दोषीहरूलाई छिटो कानुनी दायरामा ल्याउन पनि जोड दिएको छ।
नेपाली कांग्रेसले जनभावना र युवापुस्ताले उठाएको राजनीतिक परिवर्तनको मागप्रति सम्मान प्रकट गर्दै भनेको छ कि लोकतान्त्रिक मूल्य र मान्यताप्रति आधारित संवैधानिक र मर्यादित उपायबाहेक कुनै पनि आन्दोलन अघि बढ्न सक्दैन। सरकार र सम्बन्धित निकायहरूले अनावश्यक दमन नगरी संवाद र सहमतिबाट समस्याको समाधान गर्नुपर्नेमा पार्टी जोड दिन्छ।

यस्तै, आन्दोलनमा भएको भौतिक तथा मानवीय क्षतिको यथार्थ विवरण सार्वजनिक गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग पनि गरिएको छ। गोदावरी नगर समितिले जेन–जी आन्दोलनका जायज मागलाई समर्थन गर्दै लोकतान्त्रिक अभ्यासलाई सबल बनाउन निरन्तर योगदान दिने प्रतिबद्धता व्यक्त गरेको छ।

नगर सभापति विरबहादुर चोखालका अनुसार, “लोकतन्त्र, समानता र सामाजिक न्यायका पक्षमा नेपाली कांग्रेस नगर कार्यसमिति सधैं अगाडि रहनेछ।”
जय नेपाल।





















