
अत्तरियाः कैलालीको गोदावरी नगरपालिका निवासी तथा नेपाली कांग्रेस नेपाल तरुण दलका नगर सभापति रमेश भट्टराईले आफ्नो जन्मदिनलाई सामाजिक सेवामा रुपान्तरण गर्दै उदाहरणीय कदम चालेका छन्। उनले अत्तरियामा रहेको सन्त निरङ्कारी मण्डललाई १८,५०० रुपैयाँ बराबरको फर्निचर सामग्री हस्तान्तरण गरेका हुन्।

जन्मदिनको विशेष अवसरलाई भोज वा उत्सवमा मात्र सीमित नगरी भट्टराईले समाजका धार्मिक र सामाजिक संस्थालाई सहयोगमा परिणत गर्नुले उनको सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता झल्काउँछ। उनले अफिस टेबल र घुम्ने कुर्सी हस्तान्तरण गर्दै संस्थागत कामलाई अझ सहज बनाउन योगदान गरेका हुन्।


भट्टराई केवल राजनीतिमा मात्र नभई उद्यमशील व्यक्तित्वका रूपमा पनि परिचित छन्। उनी अत्तरियामा कालसैनी फर्निचर उद्योग सञ्चालन गर्दै आएका छन् र आफ्नो व्यावसायिक सफलतालाई समाजसेवामा जोड्ने काम निरन्तर गर्दै आएका छन्। विगतमा उनले विभिन्न विद्यालय, युवा क्लब, तथा विपन्न र पीडित परिवारलाई पनि आर्थिक र भौतिक सहयोग गर्दै आएको जनाइएको छ।
स्थानीयहरूले भट्टराईको यो कदमलाई प्रेरणादायी उदाहरणका रूपमा लिएका छन्। उनीहरूका अनुसार जन्मदिनलाई मात्र व्यक्तिगत उत्सव नबनाई सामुदायिक लाभका लागि प्रयोग गर्नु समाज परिवर्तनको सकारात्मक सन्देश हो।






























