
अत्तरिया: नेकपा एमाले गोदावरी नगर कमिटी अध्यक्ष सन्तोष सिंहले सोमबार नगरपालिका भएको सर्वदलीय बैठकमा गोदावरी नगरपालिकामा जेन–जी आन्दोलनको नाममा अराजक घुसपैठ गर्ने गतिविधि भइरहेको जानकारी दिए। उनले यस्तो गतिविधि नगरवासीका लागि दुर्भाग्यपूर्ण भएको भन्दै यसले नगरको शान्ति र विकासमा अवरोध पुर्याउन सक्ने चेतावनी दिए।


अध्यक्ष सिंहले नगर पुनर्निर्माण कार्यमा नेकपा एमाले पार्टीको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। उनले जनप्रतिनिधिहरूले आफ्नो आचरण सुधार गर्नुपर्ने, विलासी जीवनशैली त्यागेर साधारण जीवन अपनाउनुपर्ने र यसबाट मात्र क्षेत्रको वास्तविक विकास सम्भव हुने बताए।

साथै, भ्रष्टाचारमुक्त नगरपालिका निर्माणका लागि जनप्रतिनिधिहरूले आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्ने, पारदर्शिता र जवाफदेहिता कायम गर्नुपर्नेमा अध्यक्ष सिंहले जोड दिए। उनले जनताको सेवामुखी र जिम्मेवार नेतृत्व विकास गर्न सबै पक्षसँग सहकार्य आवश्यक रहेको पनि बताए।



















