
धनगढी : नेपाल कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले जेनजी आन्दोलनका क्रममा भएका हिंसात्मक घटनामा संलग्नलाई कारवाहीको दायरामा ल्याउन माग गरेको छ । मुख्यमन्त्री समेत रहेका कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहको अध्यक्षतामा बसेको बैठकले घटनाबारे पाँच बुँदे निर्णय गर्दै एकता, पुनर्निर्माण र जिम्मेवार कदम चाल्न समेत सरकारसँग आग्रह गरेको छ ।

बैठकले भाद्र २३ र २४ गतेको घटनामा ज्यान गुमाएका नागरिक, प्रहरी तथा युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । घाइतेको शिघ्र स्वास्थ्यलाभको पनि कामना गरिएको छ ।
बैठकले नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेतृ डा. आरजु राणा देउवा माथि भएको सांघातिक आक्रमणलाई लोकतन्त्र विरोधी तत्वको घुसपैठ भएको भन्दै घोर भत्र्सना गरेको छ । साथै दोषीमाथि कडा कारबाही गर्न माग गरिएको छ ।


यस्तै, भाद्र २३ र २४ गते देशका विभिन्न स्थानमा भएका हत्या, हिंसा, लुटपाट, आगजनी र तोडफोडका घटनामा संलग्नलाई छानबिन गरी कडा कानुनी कारबाही गर्न प्रदेश तथा संघीय सरकारलाई अनुरोध गरिएको छ ।
बैठकले जेनजी र युवाले उठाएका भ्रष्टाचारमुक्त समाज निर्माण, भ्रष्टाचारविरुद्ध कारबाहीलगायतका उचित मागलाई सम्बोधन गर्न तत्काल पहल गर्न सरकारलाई आग्रह गरेको छ । देशको वर्तमान अवस्थालाई गम्भीर भन्दै एकजुट भई पुनःनिर्माणको कार्यमा जुट्न सबैलाई अपिल समेत गरिएको छ ।



















