
धनगढीः जेन्जी आन्दोलनका क्रममा धनगढीस्थित विभिन्न सरकारी कार्यालयमा भएका आगजनी र तोडफोडपछि प्रभावित सेवामा सहजता ल्याउन सरसफाई अभियान सुरु गरिएको छ। उक्त अभियानलाई सहयोग पु-याउन निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. धनगढीले आवश्यक सामग्री प्रदान गरेको छ।

सामाजिक उत्तरदायित्व अन्तर्गत हस्पिटल परिवारले विभिन्न सरसफाई सामग्री उपलब्ध गराएर अभियानमा साथ दिएको हो। सामग्रीहरू आज जिल्ला प्रशासन प्रमुखको उपस्थितिमा सरसफाईमा जुटेका युवाहरुलाई हस्तान्तरण गरिएको थियो।

यस अवसरमा निसर्ग हस्पिटलका अध्यक्ष तिर्थराज पन्तले सुदूरपश्चिम प्रदेशका मन्त्रालय र सरकारी कार्यालयहरूको पुनःस्थापनामा सकेसम्म सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले प्रदेशको पुनर्निर्माण र सेवा प्रवाह सुचारु गर्न सबैलाई हातेमालो गर्न आह्वान पनि गर्नुभयो।





















