
अत्तरिया: सुदूरपश्चिम प्रदेशमा बुधबार ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ। असोज १ गते सुदूरपश्चिमका सात पहाडी जिल्लामा विजयोत्सवको रूपमा मनाइने यस पर्वमा भदौ १ गते सल्ला, बाँझ, निगालो आदिका हाँगाबिँगा काटेर पूतना बुढीको प्रतीक तयार पारिन्छ।

असोज संक्रान्तिको साँझ गाउँलेहरू मिलेर यस प्रतीकलाई जलाउने ‘बन्दुनी जलाउने’ परम्परा पालना गर्छन्। यस क्रममा आ-आफ्नो बारीको काँक्रो चपाएर पुतनामा फाल्ने, लुतो फाल्ने र बाटोमा बलेका दियालो गाड्ने चलन रहन्छ।

संस्कृतिका जानकारहरूले भन्छन्, राक्षस पूतनालाई भगवान् श्रीकृष्णले मारेको घटनालाई सम्झेर यो पर्व मनाइन्छ। पहिले रातभर देउडा खेल्ने प्रचलन भए पनि हाल घटेको छ।





























