
अत्तरियाः जेन-जी आन्दोलनका सहिदको सम्झनामा धनगढीस्थित माया मेट्रो हस्पिटल प्रा.लि परिसरमा बुधबार दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ। अस्पतालका कर्मचारी, डाक्टर, नर्स र प्रशासनिक प्रतिनिधि उपस्थित रहेका थिए।

भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा आयोजित सो कार्यक्रममा शान्ति र सद्भावको संदेश प्रवाह गरिएको थियो। उपस्थितहरूले शोकसहित सहिदहरूको योगदानको सम्मान गर्दै उनीहरूको सम्झना गर्न दीप प्रज्वलन गरे।


असोज १ गते आयोजना गरिएको यस कार्यक्रममा सहभागीहरूले सहिद परिवारप्रति संवेदना व्यक्त गर्दै राष्ट्र र समाजको एकताको आवश्यकता औंल्याए। सरकारले पनि आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा शोक बिदा दिएको थियो।
हालसम्म जेन-जी आन्दोलनमा ७४ जनाको निधन भइसकेको छ। दीप प्रज्वलन कार्यक्रम मार्फत सहिदहरूको बलिदान स्मरण गर्दै शान्तिपूर्ण समाधान र सहकार्यको महत्वलाई पुनः प्रत्याभूत गराइएको छ।
































