
अत्तरियाः काठमाडौं–धनगढी उडानमा न्यूनतम मूल्यका टिकट पाउन छाडेपछि यात्रुहरू मारमा परेका छन्। सामान्यतया साढे सात हजार रुपैयाँसम्ममा पाइने टिकट अहिले १२ हजारभन्दा कममा उपलब्ध छैन।

शुक्रबार भोलिका लागि अनलाइनमा १४ हजार ३ सय रुपैयाँमै थोरै सिट देखिएको छ भने अधिकांश टिकट १६ हजार ७८९ रुपैयाँमै बिक्रीमा छन्। धनगढी–काठमाडौं फर्किने उडानमा भने ६ हजार ८९८ रुपैयाँ कायम भए पनि काठमाडौं–धनगढी रुटमा २–३ दिनसम्म पनि न्यूनतम मूल्यका टिकट उपलब्ध छैनन्।

जेन–जी आन्दोलनका कारण सार्वजनिक यातायात बन्द, कफ्र्यु आदेश र चाडपर्व नजिकिँदा यात्रुको चाप बढेपछि विमान कम्पनीहरूले न्यूनतम मूल्य हटाएर अधिकतम मूल्यमै टिकट बिक्री गर्न थालेको यात्रुहरूको आरोप छ। धनगढीका खगेन्द्र साउँद भन्छन्, “अरुबेला साढे सात हजारमै सम्भव हुने उडान चाडपर्वमा महँगो हुने किन? सरकारी निकाय मौन रहँदा यात्रु शोषणमा परेका छन्।”

धनगढी विमानस्थल प्रमुख बालकुमार सिंहका अनुसार हाल काठमाडौं–धनगढीमा दैनिक आठ उडान भइरहेका छन्। तीमध्ये श्री एयरलाइन्सले छ र बुद्ध एयरले दुई उडान सञ्चालन गर्दै आएका छन्। श्री एयरलाइन्सले आफ्नो एउटा विमान राति धनगढी विमानस्थलमै राख्ने गरेको छ। सुदूरपश्चिमसँग काठमाडौं जोड्ने यो एक मात्र हवाई मार्ग हो।



















