
जेनजी आन्दोलनपछि सुदूरपश्चिमका गौरीफन्टा, गड्डाचौकीलगायत नाकामा कडाइ गरिएको छ। अब नेपाल–भारत आवतजावत गर्न नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य देखाउनुपर्ने व्यवस्था कार्यान्वयनमा आएको छ। यसले दशैं–तिहार नजिकिँदै घर फर्किनेहरू र सीमावर्ती बजारमा किनमेल जाने सर्वसाधारणलाई सास्ती थपेको छ।

बर्सेनी करिब पाँच–छ लाख नेपाली रोजगारीका लागि भारत पुग्छन्। नजिकैको उत्तराखण्डदेखि नयाँदिल्ली, मुम्बई, बैंगलोरसम्म उनीहरू काम खोज्न जाने गरेका छन्। रोजगारी नपाएर भारत पस्नुपर्ने बाध्यता अझै कायम छ। तर, पछिल्ला दिनमा कडाइले नाका पार गर्नेहरूमा कठिनाइ बढाएको छ।

कैलाली जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार नागरिकता वा सरकारी परिचयपत्र बिना नाका पार गर्न पूर्ण रोक लगाइएको छ। कतिपय सर्वसाधारण कागजात नबोक्दा लाइनमै फर्किनुपरेको छ। सीमामा आवतजावत कडाइ हुँदा दशैंमा फर्किने र कामको खोजीमा भारत पस्ने दुबै समूह प्रभावित भएका छन्।





























