
सिगास/ बैतडी – काठमाडौँ महानगरपालिकाले बैतडीको दुर्गम सिगास गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । विगतमा आकस्मिक बिरामीलाई काँधमा बोकेर, डोकोमा हालेर, वा घोडा–खच्चडमार्फत सडकसम्म ल्याउन बाध्य सिगासबासी हरूका लागि यो एम्बुलेन्स जीव रक्षक उपहार सावित भएको छ ।


देशभरका ३५ दुर्गम पालिकालाई महानगरले एम्बुलेन्स उपलब्ध गराएको हो । सिगासले प्राप्त गरेको एम्बुलेन्स गाउँपालिकाको शिवलिङ्ग स्वास्थ्यचौकी मार्फत सञ्चालन गरिने भएको छ । हिजो मंगलबार मात्रै गाउँपालिका उपाध्यक्ष धाना धामी र स्वास्थ्य शाखा प्रमुख घनश्याम बोहराले संयुक्त रूपमा एम्बुलेन्स बुझेर ल्याएका थिए ।


“हाम्रो गाउँमा एम्बुलेन्स नहुँदा धेरै आमाबाबुके आफ्ना छोराछोरी गुमाउनुपर्यो, गर्भवती आमाहरू समयमै अस्पताल पुर्याउन नसक्दा ठूलो पीडा भोग्नुपर्यो । अब त्यो पीडा केही कम हुने भयो,” स्वास्थ्य शाखा प्रमुख बोहराको भावुक भनाइ छ ।


सिगासका स्थानीयबासीहरू पनि अत्यन्तै हर्षित छन् । उनीहरूका अनुसार अब बिरामीलाई पैदल बोकेर घण्टौँ यात्रा गर्नुपर्ने दिन सकिनेछ । कच्ची सडक भए पनि गाउँ–गाउँसम्म पुगेकाले एम्बुलेन्स सेवा सबै वडासम्म पुर्याउन सकिनेछ भन्ने उनीहरूको विश्वास छ ।
गाउँपालिकाले आफ्नै स्रोतमा पनि अर्को एम्बुलेन्स खरिद प्रक्रिया अघि बढाइसकेको छ । चालु आर्थिक वर्षभित्रै गाँजरी स्वास्थ्यचौकी मार्फत अर्को एम्बुलेन्स सञ्चालन गर्ने योजना रहेको बोहराले जानकारी दिए ।
सिगास गाउँपालिकामा यो एम्बुलेन्स पुगेपछि गाउँलेको आँखामा खुशीका आँसु टल्किएका छन् । उनीहरू भन्छन् “पहिले हामीलाई अस्पताल पुग्नै कठिन हुन्थ्यो, कहिलेकाहीँ जीवन नै गुम्थ्यो । अब भने कम्तीमा आपतकालीन अवस्थामा तुरुन्तै सेवा पाउने भयौँ । यो हाम्रो लागि ठूलो राहत हो ।” एम्बुलेन्स हस्तान्तरणसँगै सिगास गाउँपालिकामा आशा जगिएको छ अब आकस्मिक अवस्थामा ‘समयमै उपचार’ सम्भव हुनेछ ।





























