
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज १७ देखि २० गतेसम्म देशका विभिन्न प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान उद्धृत गर्दै प्राधिकरणले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा आकस्मिक बहाव र डुबानको जोखिम रहेको चेतावनी दिएको हो। यस अवधिमा नारायणी, बागमती, कमला र कोशी नदीमा बहाव खतरा तह नजिक पुग्न सक्ने उल्लेख गरिएको छ।


काठमाडौं उपत्यका, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, सङ्खुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, बारा, पर्सा, सर्लाही, रौतहटलगायतका जिल्लामा विशेष सतर्कता आवश्यक भएको सूचनामा भनिएको छ। दशैँको भीडभाडलाई ध्यानमा राख्दै प्राधिकरणले रातिको समयमा अत्यावश्यक नभई सकेसम्म यात्रा नगर्न आग्रह गरेको छ। साथै, आवश्यक परे सवारी सञ्चालनमा रोक लगाउने सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय पालना गर्न सबैलाई अनुरोध गरिएको छ।
त्यस्तै, पहिरो जोखिमयुक्त र नदी किनारका बस्तीहरूलाई सुरक्षित स्थानबारे अग्रिम जानकारी लिन–दिन सुझाइएको छ। सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक र सरोकारवाला निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ भने जोखिमपूर्ण सडकमा डोजर, एक्साभेटर, लोडरजस्ता उपकरण तयारी अवस्थामा राख्न भनिएको छ।
































