
युक्रेनले राजधानी किएभमा भएको घातक रुसी प्रहारको भोलिपल्टै मस्को नजिकैको रियाजान क्षेत्रमा रहेको रुसी तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरेको दाबी गरेको छ। युक्रेनी सेनाले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै शत्रुको मिसाइल तथा बम प्रहार क्षमतालाई कमजोर पार्ने उद्देश्यले आक्रमण गरिएको उल्लेख गरेको छ।

रियाजानका गभर्नर पावेल माल्कोभका अनुसार रुसी हवाई प्रतिरक्षाले रातभरमा २५ युक्रेनी ड्रोन खसालेका थिए। भग्नावशेष खस्दा एक उद्योग परिसरमा आगलागी समेत भएको उनले टेलिग्राममार्फत बताएका छन्।

यो आक्रमण किएभमा रुसी मिसाइल प्रहारबाट सात जनाको मृत्यु भएको घटनाको भोलिपल्ट भएको हो। गोलाबारीमा घाइते भएकी एक वृद्धाको उपचारका क्रममा मृत्यु भएको किएभ प्रशासनले जनाएको छ। अन्य मृतकमध्ये एक जोडी तथा ६२ वर्षीय पुरुष रहेका छन्।

यसैबीच, निप्रोपेट्रोस क्षेत्रका अधिकारीहरूले निकोपोलमा युक्रेनी सीमा नजिकै रहेका रुसी शिविरतर्फ लागिरहेको एक ड्रोन विद्युत् लाइनमा ठोक्किँदा पाँच जना घाइते भएको र करिब ४४ हजार उपभोक्ता प्रभावित भएको जानकारी दिएका छन्।
















