
विश्वका विभिन्न देशमा आज विश्व बाल दिवस मनाइँदैछ। बालबालिकाका आवाज सुन्ने र उनीहरूको अधिकार प्रवर्द्धन गर्न सामाजिक सङ्घसंस्था, विद्यालय र समुदायले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा १९८९ मा बालअधिकारसम्बन्धी महासन्धि अनुमोदन भएको सम्झनामा यस दिवस मनाउन थालिएको हो। युनिसेफको नेतृत्वमा संसारभर बालबालिकाका जन्मसिद्ध अधिकारको संरक्षण, शिक्षामा पहुँच, समानता र सुरक्षामा सबैलाई सचेत गराइन्छ।

यस अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बालबालिकाका आवाज सुन्न र सम्बोधन गर्न सबैलाई आग्रह गरेका छन्।

आजै अफ्रिका औद्योगिकीकरण दिवस पनि मनाइँदैछ। यसमा अफ्रिकी अर्थतन्त्रलाई सक्षम बनाउन, उत्पादन वृद्धि, रोजगारी सृजना, आर्थिक विविधीकरण र गरीबी न्यूनीकरणमा जोड दिइन्छ। दिगो र समावेशी औद्योगिक विकासलाई केन्द्रमा राख्दै संयुक्त राष्ट्रसङ्घले अफ्रिकाको आर्थिक समृद्धिमा ध्यानाकर्षण गरेको छ।
































