
यातायात व्यवस्था विभागले अब छपाइ भई वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को विवरण विभागकै फेसबुक पेजमार्फत सार्वजनिक गर्ने भएको छ। बिहीबार जारी सूचनामा विभागले सुरक्षण मुद्रण केन्द्रबाट छपाइ सकेर प्राप्त भएका सबै लाइसेन्सको सूची ‘हेल्लो यातायात व्यवस्था विभाग’ फेसबुक पेजमा राखिने जनाएको छ।

यसअघिसम्म अनलाइन फारम ‘एप्रुभ’ भएपछि ७२ घण्टाभित्र लाइसेन्स लिन आउनुपर्ने सूचना प्रणालीमार्फत पठाइँथ्यो। तर जेनजी आन्दोलनका क्रममा सो प्रणाली अवरुद्ध भएपछि अब फेसबुकलाई वैकल्पिक माध्यम बनाइने विभागले स्पष्ट पारेको छ।
फेसबुकमा प्रकाशित सूचिमा आफ्नो नाम रहेको व्यक्तिले सक्कल राजस्व रसिद र पुरानो लाइसेन्स साथमा लिएर विभागमा आएर नयाँ सवारी चालक अनुमतिपत्र लिन सक्ने व्यवस्था मिलाइएको छ। विभागले यस नयाँ प्रक्रियाले सेवाग्राहीलाई लाइसेन्सबारे जानकारी लिन सजिलो हुने विश्वास व्यक्त गरेको छ।







































