
अत्तरियाः नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा हानिएका प्रत्येक चौकाले अब विद्यार्थीहरूको शिक्षा उज्यालो बनाउने माध्यम बन्न पुगेको छ। एनसेल फाउन्डेसनले बिहीबारसम्मका खेलहरूमा हानिएका ५१० चौकाबाट २,०४० भन्दा बढी शैक्षिक सामग्री वितरण गर्ने पक्का गरेको छ।

क्रिकेटप्रति उत्साह जगाउने यस सामाजिक पहलले हरेक चौकालाई विद्यार्थीहरूको उज्ज्वल भविष्यसँग जोड्ने उद्देश्य राखेको छ। सरकारी र सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई प्रदान गरिने यी सामग्रीमा कपी, पेन्सिल, शार्पनर, इरेजरलगायतका आवश्यक शैक्षिक सामग्री समावेश हुनेछ। फाउन्डेसनका अनुसार, यस पहलले विद्यार्थीहरूलाई पठन–पाठनका लागि आवश्यक स्रोतको कमी घटाउने र उनीहरूको सिकाइमा सहयोग पुर्याउने विश्वास गरिएको छ।
एनपीएल सिजन २ का खेलहरूमा चौका प्रहार गर्ने शीर्ष खेलाडीहरूमा पोखरा अवेन्जर्सका एडम रोसिङटन अग्रस्थानमा छन्, जसले २७ चौकासहित १०८ शैक्षिक सामग्री वितरण सुनिश्चित गरेका छन्। लुम्बिनी लायन्सका डार्सी सर्ट १९ चौकासहित दोस्रो स्थानमा रहेर ७६ सामग्री योगदान गरेका छन्। काठमाडौँ गोर्खाजका बेन चाल्र्सवर्थ र सुदूरपश्चिम रोयल्सका बिनोद भण्डारी १७–१७ चौका प्रहार गर्दै प्रत्येकले ६८ सामग्री वितरण सुनिश्चित गरेका छन्।


एनसेल फाउन्डेसनका कर्पोरेट कम्युनिकेसन्स तथा सस्टेनेबिलिटी डाइरेक्टर विषाखा लक्ष्मी खड्काले भने, “गत वर्षदेखि हामी क्रिकेटप्रतिको उत्साहलाई अर्थपूर्ण सामाजिक कार्यसँग जोड्दै विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गर्दै आएका छौं। बाँकी खेलहरू अझ रोमाञ्चक हुनेछन्, जसले खेल मात्र होइन, शिक्षामा हुने योगदानलाई पनि थप विस्तार गर्नेछ।”
गत वर्षको एनपीएलको पहिलो सिजनमा फाउन्डेसनले २,६१२ भन्दा बढी शैक्षिक सामग्री वितरण गर्दै ९,००० भन्दा बढी विद्यार्थीलाई सहयोग गरेको थियो। यस वर्षको वितरण नेपाल क्रिकेट संघ (क्यान), स्थानीय निकाय र साझेदार संस्था कर्मयोग फाउन्डेसनसँगको समन्वयमा गरिनेछ।
यस पहलले न केवल खेलप्रतिको प्रेमलाई उत्साह प्रदान गरेको छ, तर देशभरका विद्यार्थीहरूलाई अध्ययनका लागि आवश्यक स्रोत उपलब्ध गराउँदै उज्ज्वल भविष्यतर्फ उन्मुख गराउने महत्वपूर्ण सामाजिक योगदान पनि दिएको छ।































