
काठमाडौंः एनसेलले सोमबार (मंसिर २२) बाट नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले गत जेठमा एनसेललाई यो नम्बर रेन्ज वितरणका लागि अनुमति प्रदान गरेको थियो।

यस नयाँ नम्बर रेन्ज जारी गर्नुको मुख्य कारण हाल प्रयोगमा रहेका नम्बरहरू अपुग हुनु हो। प्राधिकरणले पहिले नै ९८०, ९८१, ९८२, ९७० नम्बर रेन्ज प्रदान गरिसकेको थियो। नयाँ नम्बर रेन्ज नेशनल नम्बरिङ् अलोकेशन प्लानको नियम अनुसार जारी गरिएको हो।
एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपङ् दत्तले नयाँ नम्बर रेन्जले उपभोक्तालाई मात्र नभई सेवा प्रदायक कम्पनी, बैंक, वित्तीय संस्था र सरकारी कार्यालयहरूलाई पनि लाभ पुग्ने बताए। “डिजिटल कारोबार र विभिन्न मोबाइल सेवाहरूको बढ्दो मागलाई ध्यानमा राखी नयाँ नम्बर रेन्ज उपलब्ध गराइएको हो,” उनले भने।


एनसेलले नयाँ नम्बर वितरणसँगै सबै सेवा प्रदायकलाई आफ्नो प्रणालीमा यो नम्बर रेन्ज इन्ट्रिगेट/अपडेट गर्न आवश्यक रहेको भन्दै तत्काल कदम चाल्न अनुरोध गरेको छ। चुस्त सेवा प्रवाहका लागि यो कदम महत्वपूर्ण रहेको छ।
आजको डिजिटल युगमा मोबाइल नम्बरको भूमिका अत्यन्त महत्वपूर्ण छ। वान टाइम पासवर्ड (OTP) प्राप्त गर्न, मोबाइल एप तथा वेब–आधारित सेवामा साइन अप गर्न, र विभिन्न डिजिटल कारोबार गर्न मोबाइल नम्बर अनिवार्य भएको छ। एनसेलको नयाँ नम्बर रेन्जले नागरिकलाई डिजिटल सेवामा सजिलो पहुँच प्रदान गर्ने अपेक्षा गरिएको छ।
यसरी, नयाँ ९७१ नम्बर रेन्जले एनसेलका उपभोक्ता र डिजिटल सेवा प्रदायक दुवैलाई लाभ पुर्याउने विश्वास व्यक्त गरिएको छ।































