
काठमाडौंः नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको अवसरमा एनसेल फाउन्डेसनले देशभरका सरकारी र सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई दुई हजार चार सय २८ वटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा गरेको छ। प्रत्येक चौकामा चार वटा शैक्षिक सामग्री प्रदान गर्ने प्रतिबद्धता अनुसार यो सामाजिक पहल निरन्तर जारी छ।

गत वर्षदेखि सुरु गरिएको यस पहलले क्रिकेटको उत्साहलाई अर्थपूर्ण शैक्षिक सहयोगसँग जोड्दै आएको छ। खेल मैदानमा प्रहार भएका प्रत्येक चौकाले विद्यार्थीहरूको पठनपाठनमा प्रत्यक्ष सहयोग पुर्याउँदै आएको छ। यस पहल मार्फत एनसेल फाउन्डेसनले आफ्नो शिक्षा प्रतिको प्रतिबद्धता स्पष्ट गरेको छ।
यस वर्षको एनपीएलमा ९९ खेलाडीले कुल ६०७ चौका प्रहार गरेका थिए। पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले सबैभन्दा बढी ३१ चौका प्रहार गर्दै १२४ शैक्षिक सामग्री वितरण सुनिश्चित गरे। लुम्बिनी लायन्सका डार्सी सर्टले २६ चौका प्रहार गरी १०४ सामग्रीको वितरण सुनिश्चित गरे भने सुदूरपश्चिम रोयल्सका बिनोद भण्डारीले २३ चौकासँगै ९२ सामग्री वितरणमा योगदान गरे।


वितरण हुने शैक्षिक सामग्रीमा स्कुल ब्याग, कापी, पेन्सिल, शार्पनर, इरेजर र अन्य आधारभूत स्टेसनरी सामग्रीहरू समावेश छन्। यस पहलको उद्देश्य विद्यार्थीहरूलाई आवश्यक शैक्षिक स्रोतको अभाव कम गर्दै उनीहरूको सिकाइमा सहयोग पुर्याउनु हो।
एनसेलकी कर्पोरेट कम्युनिकेसन तथा सस्टेनेबिलिटी निर्देशक बिषाखा लक्ष्मी खड्काले भनिन्, “खेलाडीहरूको प्रदर्शनले मैदानमा टिमलाई मात्र होइन, विद्यार्थीहरूको पठनपाठनमा पनि महत्वपूर्ण योगदान पुर्याएको छ। यस वर्ष पनि शैक्षिक सामग्रीहरू सरकारी विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी वितरण गरिनेछ।”
एनसेल एनपीएलको ‘पावर्ड बाइ’ साझेदार रहँदै आएको छ। प्रत्येक खेलमा सबैभन्दा बढी चौका प्रहार गर्ने खेलाडीलाई रु. २५,००० नगद पुरस्कार प्रदान गरिन्छ। यस वर्ष पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले ३१ चौका प्रहार गर्दै रु. २,००,००० नगद पुरस्कार प्राप्त गरे।
गत वर्षको पहिलो संस्करणमा ६५३ चौकाबाट २,६१२ भन्दा बढी शैक्षिक सामग्री वितरण गरिएको थियो, जसले ९,००० भन्दा बढी विद्यार्थीहरूलाई आवश्यक स्रोत उपलब्ध गराएको थियो। यस वर्ष पनि क्यान, स्थानीय निकाय र साझेदार संस्था कर्मयोग फाउन्डेसनसँगको समन्वयमा सामग्री वितरण हुने सुनिश्चित गरिएको छ।
































