
प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन निर्वाचन आयोगले सामाजिक सञ्जालका गतिविधिलाई समेत आचारसंहिताको दायरामा ल्याएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोगले सामाजिक सञ्जालको दुरुपयोग रोक्न स्पष्ट मापदण्ड तय गरेको हो।

आयोगका अनुसार निर्वाचनलाई प्रतिकूल असर पार्ने उद्देश्यले सामाजिक सञ्जालमा नक्कली एकाउन्ट सञ्चालन गर्न, फेक साइट खोल्न वा भ्रामक सामग्री उत्पादन गर्न निषेध गरिएको छ। आचारसंहिताले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) प्रयोग गरेर वा नगरी निर्वाचन प्रभावित पार्ने नियतले दुष्प्रचार, होच्याउने अभिव्यक्ति, अपमानजनक टिप्पणी तथा द्वेषपूर्ण भाषण गर्न नपाइने व्यवस्था गरेको छ।

त्यसैगरी, पहिले प्रकाशन वा प्रसारण भइसकेका सूचना तथा सामग्रीलाई एआई प्रयोग गरी वा नगरी तोडमोड गरेर सामाजिक सञ्जालमा पोस्ट, रिपोस्ट, कमेन्ट, प्रतिकमेन्ट, लाइभ स्ट्रिमिङ, ट्याग वा मेन्सन गर्न पनि प्रतिबन्ध लगाइएको छ। आयोग, आयुक्त वा कर्मचारीको प्रतिष्ठामा आँच पुग्ने गरी लान्छना लगाउने, चरित्र हत्या गर्ने, व्यक्तिगत आरोप लगाउने वा मानहानी गर्ने सामग्री उत्पादन तथा प्रचार–प्रसार गर्न नपाइने स्पष्ट गरिएको छ।

मतदाता तथा मतदाताको गोपनीयता भङ्ग गर्ने, निर्वाचनको स्वच्छता र निष्पक्षतामा असर पार्ने कुनै पनि गतिविधि आचारसंहिता विपरीत हुने आयोगको चेतावनी छ। आयोगले माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता औपचारिक रूपमा लागू गर्ने तयारी गरेको जनाएको छ।
































