
लामो समय प्रवासमा नेपाली काँग्रेसको संगठन विस्तार र नेपाली समुदायको हितमा अद्वितीय योगदान पुर्याएका गोरख बहादुर बिष्टलाई कैलाली–४ बाट प्रतिनिधि सभाको उम्मेदवार बनाउनु पार्टीको विवेकपूर्ण निर्णय भएको छ। बिष्टको जीवन र राजनीतिक यात्रा एउटा प्रेरणादायी कथा हो, जसले संगठनप्रति निष्ठा, समाजप्रति जिम्मेवारी र देशप्रतिको माया झल्काउँछ।

२०२९ साल साउन १६ गते डोटीको जोरायल गाउँपालिका–५ गडसेरामा जन्मिएका बिष्टको प्रारम्भिक शिक्षा महेन्द्र प्रावि गडसेरामा भयो। पञ्चोदय माविबाट एसएलसी पास गरेपछि उनी भारतको देहरादुन गए र त्यहाँबाट प्लस–टु अध्ययन पूरा गरे। त्यसपछि काठमाण्डौंको शंकरदेव क्याम्पसमा स्नातक र एमबीएको अध्ययन पुरा गर्दै उनी राजनीतिमा सक्रिय भए। १९९८ देखि उनी आफ्नो ज्ञान, अनुभव र अन्तर्राष्ट्रिय सम्बन्धलाई देश र पार्टीको हितमा प्रयोग गर्दै आएका छन्।
२०४६ सालमा मुलुकमा प्रजातन्त्र पुनर्स्थापना गर्न युवावस्थामा सक्रिय भएका बिष्टले देहरादुनमा नेबिसंघको सचिवको जिम्मेवारी सम्हाले। त्यसपछि दिल्लीस्थित दूतावास घेर्ने अभियानमा सक्रिय भूमिका निभाए। अमेरिकामा पुगेपछि उनले नेपाली लोकतन्त्र र मानवअधिकारको पक्षमा आवाज बुलन्द गरे। उनी संस्थापक अध्यक्ष बनेर नेप्लिज डेमोक्रेटिक युथ काउन्सिल सञ्चालन गर्दै १८ वटा ¥याली, संयुक्त राष्ट्र संघ अगाडि प्रदर्शन र १९० देशका राष्ट्राध्यक्षलाई ज्ञापन पत्र बुझाउने काम गरे।

राजनीतिसँगै सामाजिक कार्यमा बिष्टको सक्रियता प्रशंसनीय छ। कोभिड–१९ महामारीका बेला उनी घरघरमा खाद्य सामग्री, मास्क र सेनिटाइजर पुर्याउन अग्रसर भए। भूकम्प, बाढी र अन्य विपत्तिमा राहत जुटाउने, पुनर्निर्माणमा सहयोग पठाउने उनका प्रयासले नेपाली समाजमा विश्वास र प्रेरणा सिर्जना गरेको छ। प्रवासमा भए पनि उनको मन र मुटु सधैं सुदूरपश्चिम र नेपालमै केन्द्रित छ।

नेपाली काँग्रेसले उनलाई कैलाली–४ बाट उम्मेदवार बनाउँदा बिष्ट पार्टीप्रति गहिरो आभारी छन्। उनले पार्टीको निर्णय स्वीकार्दै घरदैलो, मतदाता भेटघाट र जनसंपर्कमा व्यस्तता बढाएका छन्। उनी भन्छन्, “मेरो ज्ञान, अनुभव र अन्तर्राष्ट्रिय सम्बन्धलाई यहाँको समग्र विकासका लागि सदुपयोग गर्नेछु। यहाँका नागरिकका समस्या बुझ्न र समाधान दिन मेरो प्रतिबद्धता सधैं रहन्छ।”
राजनीतिक संघर्षमा लगातार विजयी नहुँदा पनि बिष्टले कहिल्यै पार्टीलाई समर्थन छोडेनन्। ७०, ७४ र ७९ का निर्वाचनमा टिकट नपाए तापनि उनी सधैं पार्टी जिताउने अभियानमा सक्रिय रहे। अमेरिकामा रहेका नेपाली जनसम्पर्क समितिहरुसँगको समन्वयबाट पार्टीको सशक्तिकरणमा महत्वपूर्ण योगदान दिए।
बिष्ट केवल राजनेता मात्र होइनन्, उनी समाजसेवी, प्रवासी नेपालीको प्रेरणा र पार्टीप्रतिको निष्ठाको प्रतीक हुन्। कैलाली–४ बाट उम्मेदवारीले यहाँ नयाँ ऊर्जा, विश्वास र परिवर्तनको आशा जगाउने विश्वास गरिएको छ। उनको जीवन र संघर्षको कथा नेपाली राजनीतिमा युवाहरू र प्रवासी समुदायका लागि मार्गदर्शन बन्नेछ।





























