
सुरक्षित इन्टरनेट दिवस २०८२ को अवसरमा एनसेल फाउन्डेसन र नासा सेक्युरिटीजले मङ्गलवार देशव्यापी रूपमा ‘सेफर इन्टरनेट टुगेदर (एसआईटी)’ कार्यक्रम सुरु गरेको घोषणा गरेका छन्। यो अभियानले देशभरका विद्यालयहरूमा पुगेर साइबर सुरक्षा, डेटा गोपनीयता र डिजिटल सुरक्षाका विविध पक्षहरूबारे विद्यार्थीहरूलाई जानकारी प्रदान गर्ने लक्ष्य राखेको छ। कार्यक्रममार्फत करिब ५०,००० भन्दा बढी विद्यार्थी, शिक्षक र समुदायका सदस्य लाभान्वित हुने अपेक्षा गरिएको छ।

हाल नमुना परियोजनाका रूपमा सञ्चालन भइरहेको एसआईटी कार्यक्रम बागमती, गण्डकी र मधेस प्रदेशका सरकारी, सामुदायिक र निजी विद्यालयहरूमा कक्षा ३ देखि १२ सम्मका विद्यार्थीहरूलाई लक्षित गरी साइबर सचेतना सत्रहरू सञ्चालन गर्दैछ। सहभागी विद्यार्थीहरूलाई इन्टरनेट सुरक्षा सम्बन्धी विशेष हाते पुस्तक वितरण गरिनेछ, जसले डिजिटल जोखिम र सुरक्षा उपायहरूबारे व्यवहारिक ज्ञान दिनेछ। पहिलो चरण सफलतापछि यसलाई आगामी आर्थिक वर्षमा अन्य प्रदेशहरूमा विस्तार गर्ने योजना रहेको छ।

यस वर्षको सुरक्षित इन्टरनेट दिवसको नारा रहेको छ: “स्मार्ट टेक, सेफ चोइसेस: एक्सप्लोरिङ द सेफ एन्ड रेस्पोन्सीबल युज अफ एआई”, जसले कृत्रिम बौद्धिकताको जिम्मेवार प्रयोगमा केन्द्रित छ।
पोखरास्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयमा आयोजित उद्घाटन सत्रमा एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले डिजिटल सुरक्षा र जिम्मेवार प्रविधि प्रयोगबारे आफ्ना विचार प्रस्तुत गरे। उनले भने, “म एक बाबु पनि हुँ, त्यसैले व्यक्तिगत डाटाको सुरक्षा मेरो लागि महत्वपूर्ण विषय हो। प्रविधि हाम्रो जीवनको अभिन्न हिस्सा बन्दै गएको छ। एसआईटी कार्यक्रममार्फत हामी विद्यार्थीहरूलाई डिजिटल संसारमा सुरक्षित, जिम्मेवार र आत्मविश्वासका साथ नेभिगेट गर्न आवश्यक ज्ञान र सीप प्रदान गर्ने लक्ष्य राखेका छौं।”

नासा सेक्युरिटीजका प्रबन्ध निर्देशक मदन पौड्यालले भने, “डिजिटल प्लेटफर्मले युवाहरूको सिकाइ, अन्तरक्रिया र निर्णय क्षमतामा प्रभाव पार्दै आएको छ। यसका लागि अनलाइन सुरक्षा सुनिश्चित गर्नु हाम्रो साझा जिम्मेवारी हो। एसआईटी अभियानले विद्यार्थीहरूलाई प्रविधिको जिम्मेवार प्रयोग र डिजिटल पदचिन्ह संरक्षण गर्न व्यावहारिक मार्गदर्शन दिनेछ।”
हालसम्म कार्यक्रम कास्की, ललितपुर र भक्तपुरका नौ विद्यालयमा सञ्चालन भइसकेको छ। श्री राष्ट्रिय माध्यमिक विद्यालय, अमरसिंह माध्यमिक विद्यालय, लिटल स्टेप सेकेन्डरी स्कूल, भास्कर मेमोरियल स्कूल, सेन्ट–मेरिज स्कूल र रेन्बो एकेडेमिक होम्स सहितका विद्यालयका ७,००० भन्दा बढी विद्यार्थी यसबाट लाभान्वित भएका छन्। कार्यक्रम कार्यान्वयनमा एस्टेरिस्क टेक्नोलोजीले सहकार्य गरेको छ।
एसआईटी अभियानले नेपालमा सुरक्षित, जिम्मेवार र समावेशी डिजिटल इकोसिस्टम प्रवद्र्धन गर्ने एनसेल फाउन्डेसनको प्रतिबद्धतालाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।


































