
अत्तरियाः श्री जन कल्याण इङ्लिस स्कुलको २८औँ वार्षिकोत्सव विविध कार्यक्रम र उत्साहपूर्ण सहभागितासहित सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि डा. टिन एन जोशी र विशिष्ट अतिथि शारदा देवी रोकाया ले कार्यक्रमलाई गरिमा दिएका थिए।

कार्यक्रममा विद्यालयका कर्मचारी, विद्यार्थी, अभिभावक र विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सो अवसरमा विद्यालयका विविध क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरियो।

विद्यालयका प्रिन्सिपल यज्ञराज हमाल ले सम्बोधन गर्दै गुणस्तरीय शिक्षा, संस्कार र अतिरिक्त क्रियाकलापमा विद्यालयको ध्यानको बारेमा जानकारी दिए। उनले भने, “पढाइमा उत्कृष्ट भए पनि संस्कारयुक्त नभए समाज र परिवारका लागि उपयोगी हुँदैन। यसकारण विद्यार्थीको संस्कार विकासमा विद्यालयले विशेष जोड दिएको छ।”

प्रिन्सिपल हमालले आगामी दिनमा पनि पढाइसँगै अतिरिक्त क्रियाकलापमा केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्ने र निजी विद्यालयप्रति स्थानीय सरकारको दृष्टिकोण सकारात्मक हुनुपर्ने धारणा व्यक्त गरे। यस प्रकारको वार्षिकोत्सवले विद्यार्थीको सर्वाङ्गीण विकास र समुदायसँग विद्यालयको सम्बन्धलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ।
































