
कैलालीको अत्तरियास्थित लोटस आई अंग्रेजी माध्यमिक विद्यालय को २७औँ वार्षिकोत्सव समारोह मंगलबारदेखि औपचारिक रूपमा सुरु भएको छ। दुई दिनसम्म सञ्चालन हुने समारोहको उद्घाटन नेपालका चर्चित मोटिभेटर क्षेत्र प्रसाद ज्ञवाली ले गर्नुभयो।

विद्यालयले पहिलो दिन कक्षा पिजीदेखि ५ सम्मका विद्यार्थीहरूलाई समेटेर विविध सांस्कृतिक तथा प्रतिभा प्रदर्शन कार्यक्रम आयोजना गरेको थियो। साना विद्यार्थीहरूले नृत्य, गीत, वाचन र नाटकमार्फत आफ्नो क्षमता प्रस्तुत गरेका थिए। साथै विभिन्न क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो। कार्यक्रममा विद्यालयले आफ्नै सिर्जनामा तयार पारेको ‘लोटस सरस्वती वन्दना’ र स्वागत गीत समेत प्रस्तुत गरिएको थियो।
विद्यालयका मेनेजिङ डाइरेक्टर धुर्व कडायत का अनुसार वार्षिकोत्सव विद्यार्थीहरूको उत्सव भएकाले सबैलाई अवसर मिलोस् भन्ने उद्देश्यले दुई दिन कार्यक्रम राखिएको हो। बुधबार कक्षा ५ माथिका विद्यार्थीहरूलाई समेटेर अभिभावक दिवससहित भव्य कार्यक्रम आयोजना गरिने जनाइएको छ।
विद्यालयले पछिल्ला वर्षहरूदेखि निरन्तर दुई दिनसम्म वार्षिकोत्सव मनाउँदै आएको छ। यसले विद्यार्थीको सर्वाङ्गीण विकास र अभिभावक–विद्यालय सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण भूमिका खेलेको विश्वास गरिएको छ।





























