
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ले फागुन २१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन मातहतका सबै निकायलाई स्पष्ट निर्देशन दिनुभएको छ। मंगलबार आयोजित उच्चस्तरीय बैठकमा विभागीय मन्त्री, राज्यमन्त्री, सचिव, कैलालीका प्रमुख जिल्ला अधिकारी तथा प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो।

मुख्यमन्त्री शाहले निर्वाचन सफल बनाउनु प्रदेश सरकारको समेत दायित्व भएको उल्लेख गर्दै आवश्यक समन्वय र सहयोगका लागि सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। संघीय सरकारले निर्वाचनका लागि आवश्यक संयन्त्र परिचालन गरिसकेको र निर्वाचन सामग्रीसमेत सम्बन्धित स्थानमा पुगिसकेको जानकारी दिँदै प्रदेशस्तरबाट कुनै कमजोरी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

बैठकमा विभिन्न मन्त्री, प्रमुख सचिव, सुरक्षा अधिकारी तथा सम्बन्धित निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। साथै, बैठकले राष्ट्रिय प्रजातन्त्र दिवस–२०८२ भव्य रूपमा मनाउने निर्णयसमेत गरेको छ। फागुन ७ गते मनाइने दिवसका अवसरमा मुख्यमन्त्रीको अध्यक्षतामा समारोह समिति गठन गरिएको छ।

दिवसका अवसरमा प्रदेशभर सरकारी कार्यालयमा राष्ट्रिय झण्डा सजाउने, दीप प्रज्वलन गर्ने तथा सञ्चार माध्यममार्फत सन्देश प्रसारण गर्ने निर्णय भएको छ। साथै पृथ्वीनारायण चोकदेखि शहिद स्मारक चटकपुरसम्म प्रभातफेरी आयोजना गरिनेछ।































