कैलाली–४ मा खेमराज कोइरालाको प्रतिबद्धता : “सुशासन, समृद्धि र सुदूरपश्चिम विकास मोडेल”

Image
Nisarga Hospital

अत्तरिया: आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कैलाली–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खेमराज कोइरालाले आफ्नो विशेष चुनावी वाचा–पत्र सार्वजनिक गरेका छन्। बुधबार सार्वजनिक गरिएको वाचा–पत्रमा उनले “सुदूरपश्चिम विकास मोडेल” तयार गरी क्षेत्रको समग्र रूपान्तरण गर्ने प्रतिबद्धता जनाएका छन्।
कोइरालाले संविधानको पूर्ण कार्यान्वयन, सुशासन, पारदर्शिता र नागरिकको जीवनस्तर उकास्ने लक्ष्यलाई मुख्य एजेन्डा बनाएका छन्। संवैधानिक अधिकारको प्रभावकारी कार्यान्वयन, सरकारी निकायमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्ने तथा मौलिक अधिकारको संरक्षण गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ। संघीय संरचना सुदृढ बनाउन प्रदेश र स्थानीय तहसँग सहकार्य, निर्णय प्रक्रियामा नागरिक सहभागिता वृद्धि र भ्रष्टाचारमुक्त प्रशासन निर्माणमा विशेष जोड दिइएको छ।
सार्वजनिक सेवा सुधारतर्फ शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा समान पहुँच सुनिश्चित गर्ने योजना अघि सारिएको छ। कृषि, विज्ञान, उद्योग, पर्यटन र पूर्वाधार क्षेत्रमा दीगो तथा समावेशी विकासलाई प्राथमिकता दिँदै कृषिमा आधुनिक प्रविधि र सीप विकास कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ। युवालाई स्वदेशमै अवसर सिर्जना गर्न स्टार्टअप तथा साना–मझौला उद्योग प्रवर्द्धन गर्ने रणनीति पनि समेटिएको छ।
“जनताको कर जनताकै हितमा” भन्ने नारासहित वडा र पालिकास्तरका योजना, खर्च र परिणाम सार्वजनिक गर्ने प्रणाली विकास गरिने, सांसद सम्पर्क कार्यालय स्थापना गरी जनतासँग प्रत्यक्ष संवाद बढाइने तथा ‘जनताको आवाज–सांसदको काम’ कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता वाचा–पत्रमा छ।
खेलकुद र युवा विकासतर्फ गोदावरी, गौरीगंगा, चुरे र मोहन्याल क्षेत्रमा खेल पूर्वाधार विस्तार, रंगशाला निर्माण र प्रतिभा संरक्षणका योजना अघि सारिएका छन्। वातावरण संरक्षणतर्फ चुरे संरक्षण, नदी व्यवस्थापन, हरित करिडोर, बाढी पूर्वसूचना प्रणाली विस्तार, फोहर व्यवस्थापन तथा नवीकरणीय ऊर्जामा लगानी बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ।
धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि गोदावरी–गौरीगंगा क्षेत्रलाई ‘स्पिरिचुअल एन्ड कल्चरल करिडोर’का रूपमा विकास गर्ने योजना अघि सारिएको छ। साथै दलित, महिला, जनजाति, सिमान्तकृत समुदाय र ज्येष्ठ नागरिकका अधिकार सुनिश्चित गर्दै समावेशी नीतिको प्रभावकारी कार्यान्वयन गर्ने उल्लेख छ।
कोइरालाले यो निर्वाचन प्रतिनिधि चयन मात्र नभई सुशासन स्थापना, भ्रष्टाचार अन्त्य र दीगो विकासको आधार निर्माण गर्ने ऐतिहासिक अवसर भएको बताएका छन्।

CP Hospital Dhangadhi
Attariya Hospital