
अत्तरिया: चुरे गाउँपालिका–२ खैरालामा विभिन्न राजनीतिक दल परित्याग गरी १३ जना स्थानीय नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। खैराला गाउँमा आयोजित चुनावी सभाका बीच नेकपा एमाले र नेकपा परित्याग गरेका उनीहरू औपचारिक रूपमा नेपाली कांग्रेस मा आवद्ध भएका हुन्।

पार्टी प्रवेश गर्नेहरूमा लक्ष्मण बलामी मगर, ओमबहादुर लामिछाने मगर, पहलबहादुर सिजापति मगर, सरिता सिजापती, लक्ष्मीदेवी जोल्मी मगर, खगीदेवी बलामी मगर, कमलादेवी सिजापती मगर, देवीसरा लामिछाने, मानबहादुर तारामी मगर, खगीदेवी तारामी मगर, खगीदेवी सिजापती, विष्नादेवी राना र पहलबहादुर दर्लामी रहेका छन्।
उनीहरूलाई प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ का कांग्रेस उम्मेदवार गोरखबहादुर बिष्ट “आनन्द” ले टीका तथा खादा लगाएर पार्टीमा स्वागत गरेका थिए। कार्यक्रममा बोल्दै बिष्टले कांग्रेसको लोकतान्त्रिक विचार, विकासप्रतिको प्रतिबद्धता र जनतामुखी एजेन्डाका कारण गाउँस्तरमा समर्थन बढ्दै गएको बताए।
पार्टी प्रवेश गर्नेहरूले आगामी निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई विजयी गराउन गाउँ–टोलबाट सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्। स्थानीय स्तरमै राजनीतिक ध्रुवीकरण तीव्र बन्दै गइरहेको बेला खैरालामा देखिएको यो प्रवेशलाई कांग्रेसका लागि सकारात्मक संकेतका रूपमा हेरिएको छ।
चुनावी माहोल तातिँदै जाँदा खैरालामा कांग्रेसको पकड थप सुदृढ हुने अपेक्षा गरिएको छ।






























