
स्वास्थ्य क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखि निरन्तर सेवा पुर्याउँदै आएका डा. चिरञ्जीवी पन्तलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ। धनगढीस्थित राइजिङ बोर्डिङ स्कुलले चिकित्सा सेवा, शिक्षण र विशिष्टीकृत उपचारमा उनले दिएको अतुलनीय योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरेको हो।

जनरल फिजिसियन तथा पल्मोनरी क्रिटिकल केयर विशेषज्ञका रूपमा परिचित डा. पन्तले करिब २१ वर्ष नेपाली सेनामा सेवा दिएका छन्। सैनिक जीवनमा उनले ५ वर्ष मेडिकल अधिकृत र १६ वर्ष परामर्शदाता चिकित्सकका रूपमा जिम्मेवारी सम्हाले। संयुक्त राष्ट्रसंघको शान्ति मिसनअन्तर्गत हाइटी र कंगोमा दुईपटक सिनियर मेडिकल अधिकृतका रूपमा खटिँदै उनले अन्तर्राष्ट्रिय स्तरमा पनि उत्कृष्ट सेवा दिएका थिए।


शिक्षण क्षेत्रमा पनि उनको योगदान उल्लेखनीय छ। नेपाल आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्समा १२ वर्ष अध्यापन गर्दै उनले सहप्राध्यापक र उपप्राध्यापकका रूपमा नयाँ चिकित्सक उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गरे।
शैक्षिक रूपमा उनले नेपालगञ्ज मेडिकल कलेजबाट एमबीबीएस, वीर अस्पताल (न्याम्स)बाट एमडी तथा चितवन मेडिकल कलेजबाट पल्मोनरी क्रिटिकल केयर मेडिसिनमा फेलोसिप हासिल गरेका छन्। हाल धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा पूर्णकालीन रूपमा कार्यरत डा. पन्त श्वासप्रश्वाससम्बन्धी जटिल रोग उपचारमा अब्बल मानिन्छन्।
दम, सीओपीडी, निमोनिया, क्षयरोग, स्लीप एपनिया तथा सघन उपचार कक्ष व्यवस्थापनमा विशेष दक्षता हासिल गरेका उनलाई यसअघि राष्ट्रपतिबाट ‘प्रबल जनसेवा श्री चौथो’ पदकबाट पनि सम्मानित गरिएको थियो।

































