
कैलालीको चुरे क्षेत्रअन्तर्गत चुरे गाउँपालिका–४ स्थित अधेरी खोलामा अवैध रूपमा ढुंगा, गिट्टी र माटो उत्खनन् गरिरहेको अवस्थामा डिभिजन वन कार्यालय कैलालीको टोलीले पाँच जनालाई पक्राउ गरेको छ। गस्तीका क्रममा भ्याकु लोडर प्रयोग गरी नदीजन्य पदार्थ निकाल्दै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा विभिन्न स्थानका ट्याक्टर, टिप्पर र भ्याकु लोडर चालक रहेका छन्। घटनास्थलबाट एउटा भ्याकु लोडर, तीन टिप्पर र एक ट्याक्टर बरामद गरिएको छ। पक्राउ परेकाहरू वन कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको जनाइएको छ।
डिभिजनल वन अधिकृत रामविचारी ठाकुरका अनुसार वातावरणीय परीक्षण नगरी नदीजन्य पदार्थ उत्खनन् गर्नु कानुनविपरीत हो। वन ऐनअनुसार यस्तो कार्यमा संलग्नलाई बिगो बमोजिम कैद, जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ। सो क्षेत्रमा वन फँडानी र काठ तस्करीसमेत भइरहेको तथ्य फेला परेको कार्यालयले जनाएको छ।






























