
अत्तरिया: कैलालीको गोदावरी नगरपालिका–२ अत्तरिया स्थित गोदावरी पब्लिक स्कूलले आफ्नो तेस्रो वार्षिकोत्सव तथा अभिभावक दिवस उल्लासपूर्ण र भव्य वातावरणमा सम्पन्न गरेको छ। छोटो समयमै शैक्षिक, खेलकुद तथा अतिरिक्त क्रियाकलापमा उल्लेखनीय प्रगति गर्दै आएको विद्यालयले यस अवसरमा विद्यार्थीको प्रतिभा, सिर्जनशीलता र अनुशासनको सशक्त प्रदर्शन प्रस्तुत गर्यो।


कार्यक्रम विद्यार्थी आयुषा विष्ट र आशिष भट्टले आत्मविश्वासपूर्ण ढंगले सञ्चालन गरेका थिए। उनीहरूको स्पष्ट अभिव्यक्ति र आकर्षक प्रस्तुतीले कार्यक्रमलाई जीवन्त बनाएको थियो। विद्यार्थीहरूले विविध सांस्कृतिक नृत्य, गीत, कविता तथा प्रेरणादायी मन्तव्य प्रस्तुत गर्दै अभिभावक र अतिथिहरूको मन जितेका थिए।

कार्यक्रमको मुख्य आकर्षण विद्यार्थीहरूले आफैं निर्माण गरेको रोबोटमार्फत राष्ट्रिय झण्डा प्रदर्शन गर्नु थियो। प्रविधि र देशप्रेमको सुन्दर संयोजन झल्किएको उक्त दृश्यले उपस्थित सबैलाई भावुक र गर्वान्वित बनायो। साना हातले सिर्जना गरेको यो नवप्रवर्तनले विद्यालयको प्रविधिमैत्री र व्यवहारिक शिक्षण पद्धतिको स्पष्ट संकेत दिएको छ।

विद्यालयका संस्थापक अध्यक्ष मनीराज नौन्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख विरेंद्र भट्ट प्रमुख अतिथि तथा उपप्रमुख शारदा देवी रोकाया विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। आफ्नो मन्तव्यमा नगर प्रमुख भट्टले विद्यालयले छोटो समयमै गुणस्तरीय शिक्षा र अनुशासनमा उदाहरणीय उपलब्धि हासिल गरेको उल्लेख गर्नुभयो। उहाँले नगरभित्र गुणस्तरीय शिक्षा विस्तार गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताउँदै निजी र सामुदायिक विद्यालयसँग सहकार्यलाई अझ सुदृढ बनाइने स्पष्ट पार्नुभयो।

नगर प्रमुख भट्टका अनुसार पालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरूलाई क्रमिक रूपमा शिक्षण–सिकाइ तालिम प्रदान गरिँदै आएको छ। विकास निर्माणका अन्य योजना प्रभावित भए पनि शिक्षामा लगानीलाई निरन्तरता दिइएको उहाँको भनाइ थियो। “शैक्षिक गुणस्तर नबढाईकन अन्य विकास सम्भव छैन,” उहाँले जोड दिनुभयो।

उहाँले गोदावरीको शिक्षा क्षेत्रमा योगदान पुर्याइरहेका संस्थागत विद्यालय सञ्चालकहरूलाई धन्यवाद दिँदै उनीहरूको समर्पणलाई नगरको शिक्षा प्रणालीको मेरुदण्डको रूपमा प्रशंसा गर्नुभयो। कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरणसमेत गरिएको थियो। विद्यालय प्रशासनले समग्र व्यक्तित्व विकासमा केन्द्रित शिक्षालाई अझ सशक्त बनाउने प्रतिबद्धता जनाएको छ।






























