
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीस्वरूप कैलाली जिल्लाका चार स्थानमा अस्थायी मतदान केन्द्र तोकिएका छन्। प्रदेश निर्वाचन कार्यालयका अनुसार निर्वाचन क्षेत्र–१ अन्तर्गत टीकापुर नगरपालिका भवन, क्षेत्र–४ मा गोदावरी नगरपालिकाको बनदेवी मन्दिर परिसर, क्षेत्र–५ मा धनगढी उपमहानगरपालिका भवन तथा धनगढीकै जिल्ला कारागार शाखामा अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ।

कार्यालय प्रमुख प्रेमराज भट्टका अनुसार स्थायी मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मात्र यी केन्द्रमा पुगेर समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मतदान गर्न पाउनेछन्। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी, सरकारी कर्मचारी तथा कारागारका कैदीबन्दीलाई मतदानको सुविधा उपलब्ध गराउन अस्थायी केन्द्रको व्यवस्था गरिएको हो।
जिल्लाका यी केन्द्रमार्फत ४० कैदीबन्दीसहित कुल चार हजार १९६ मतदाताले समानुपातिकतर्फ आफ्नो मताधिकार प्रयोग गर्न सक्ने जनाइएको छ।






























