
लोकगायक सुरतबहादुर रावत ‘डोटेली कान्छा’ सम्मानित भएका छन्। कञ्चनपुरको कृष्णपुर–२ स्थित ज्ञानोदय गुरुकुल माध्यमिक विद्यालयले आफ्नो वार्षिकोत्सवको अवसरमा उनलाई लोकसंगीत क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै सम्मान प्रदान गरेको हो।

तीन दशकभन्दा लामो समयदेखि लोकसंगीतमा सक्रिय डोटेली कान्छा सुदूरपश्चिमको लोकसंस्कृति संरक्षण र प्रवर्द्धनमा निरन्तर समर्पित छन्। उनका ‘सुन्तली बोट’, ‘कठैमेरा डुम्राकोट’, ‘दाइको ब्या भयो भाइको लै ब्या भयो मेरो मात्र क्या भयो’, ‘ओ ओ मेरा बुव’ लगायतका दर्जनौं गीत लोकप्रिय छन्।

संगठनात्मक रूपमा पनि उनले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानमा पूर्वकेन्द्रीय सदस्य तथा प्रदेश संयोजकको जिम्मेवारी सम्हालेका छन्। नेपाल सांस्कृतिक संघका पूर्वकेन्द्रीय उपसभापति, ‘हाम्रो संस्कृति हाम्रो पहिचान नेपाल’ का संस्थापक अध्यक्ष र सुदूरपश्चिमाञ्चल साहित्य समाजका पूर्वसचिव रहेका उनी हाल डेउडा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष छन्।

सामाजिक तथा राजनीतिक क्षेत्रमा समेत सक्रिय डोटेली कान्छा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका प्रवक्ता हुन्।































